निधि, सिंह र कोइरालाले अब सबै केन्द्रीय सदस्यसँग छलफल गर्ने (भिडियो रिपोर्टसहित)
१५ असार २०७८ काठमाडौं । सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कोशिसमा लागेका नेतृत्वका आकांक्षी कांग्रेसका तीन नेताले अब सबै केन्द्रीय सदस्यसित छलफल गर्ने भएका छन् ।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सिंहको निवासमा भएको छलफलमा परामर्शको दायरा फराकिलो बनाएर अघि बढ्ने सहमति भएको हो ।
त्यसै अनुसार आगामी शुक्रबार सबै केन्द्रीय सदस्यसित छलफल हुने नेता सिंहले जानकारी दिनुभयो । त्यसपछि तेह्रौं महाधिवेशनमा सभापति लडेका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासित तीन नेताले सामूहिक छलफल गर्नेछन ।
निधि, कोइराला र सिंहले क्रियाशील सदस्यता वितरणमा गडबडको आशंका गर्नुभएको छ । छलफलपछि नेता सिंहले पाउनुपर्नेले नपाउने र नपाउनेलाई दिने अवस्था आउन नदिन आफूहरु लाग्ने बताउनुभयो ।
कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेता निधि, कोइराला र सिंहबीच छलफल भैरहेको छ । तीनै जना १४ औं महाधिवेशनमा सभापतिका आंकाक्षी हुन् । पार्टीभित्र फरक गुटमा रहेका निधि, कोइराला र सिंहको निरन्तरको छलफललाई नयाँ समीकरण निर्माणको तयारी मानिएको छ ।
निधि संस्थापन समूहमा हुनुहुन्छ भने कोइराला र सिंह संस्थापन इतर समूहमा हुनुहुन्छ । देउवाले सभापतिमा सहयोग गर्न नसक्ने बताएपछि निधिले छुट्टै तयारी थाल्नुभएको हो । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया