Political Hightlights

कांग्रेस सभापतिका तीन आकांक्षी कोइराला, निधि र सिंहबीच भेटवार्ता

हिमालय टिभी
२०७८ असार ७ गते १६:२४
कांग्रेस सभापतिका तीन आकांक्षी कोइराला, निधि र सिंहबीच भेटवार्ता

७ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि अन्य नेताहरुले विकल्पको खोजी थालेका छन् ।

सभापतिमा दाबी गर्दै आएका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले आज ‘लञ्च’ सहित बैठक गरी सभापति देउवामाथि दबाब बढाउनु भएको हो ।

निधिको निवास बानेश्वरमा बैठक बसी अनौपचारिक छलफल जारी राख्ने सहमति गरेका नेताहरुले सातवटा विषयमा पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गराउने भएका छन ।

पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गर्ने, जिल्ला सभापतिलाई आफूहरुको बैठकबारे जानकारी गराउने, अनौपचारिक छलफल जारी राख्ने गरी सातवटा विषयमा नेताहरुबीच समझदारी भएको हो ।

देउवाको आश्वासनपछि १३ औं महाधिवेशनमा पछि हटेका निधिले १४ औँ महाधिवेशनमा सभापतिमा दाबी राख्नुभएको हो । निधिले देउवासँगको भेटमा पनि आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शनिबार देउवाले निवासमै बोलाएर सभापतिमा आफैँ दोहोरिने बताएपछि निधि असन्तुष्ट हुनुहुन्छ ।

निधिले असार २ गते नेता कृष्णप्रसाद सिटौलाको निवास पुगेर सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरिसक्नु भएको थियो । निधिले यही असार ४ गते केन्द्रीय समिति बैठक सकिएपछि महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै कार्यकक्षमा डाकेर अब तीन नेताले सामूहिक प्रयास थाल्नुपर्ने बताउनु भएको थियो ।

चार गतेकै छलफलको निरन्तरता स्वरुप आज ‘लञ्च’ मिटिङ राखिएको जनाइएको छ । सभापति देउवाले पनि सातै प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेर आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्