Political Hightlights

उद्घाटनमा प्रधानमन्त्रीलाई हतार पूरै नभएका आयोजना किन हुन्छन् उद्घाटन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३ गते २०:१९
उद्घाटनमा प्रधानमन्त्रीलाई हतार पूरै नभएका आयोजना किन हुन्छन् उद्घाटन ? (भिडियो रिपोर्टसहित)

३ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र शिलान्यासमा हतारो देखाउँदै आउनु भएको छ । सरकारले काम गरिरहेको छ भन्ने देखाउनकै लागि पनि उहाँले पूरा नै नभएका आयोजना उद्घाटन गरिरहेको आरोप लाग्ने गरेको छ ।

महिनौं अघि प्रधानमन्त्रीले उद्घाटन गरेका कतिपय आयोजनाको काम अहिले पनि पूरा भएको छैन् । यसबाट पनि प्रधानमन्त्री हतारमै उद्घाटन गर्न लालायित भएको पुष्टि हुन्छ ।

उदाहरण १
देश कोरोना महामारी संक्रमणको उच्च बिन्दुमा पुगेका बेला वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा बनेको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभयो । तर एक महिना पनि नपुग्दै यो सम्मेलन केन्द्रमा पानी चुहिन थालेको छ । र अहिले यो मर्मत भैरहेको छ ।

उदाहरण २

वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभयो । तर धरहराको पनि काम सकिएको छैन । मुख्य संरचना धरहरा ठडिए पनि यसका अन्य महत्वपूर्ण संरचना बन्न बाँकी छ । उद्घाटनका दिन प्रधानमन्त्री ओलीले धरहराको टुप्पोमै पुगेर पुष्पवृष्टि गरे पनि निर्माण नसकिएका कारण सर्वसाधारण नागरिकले धरहरामा पाइलो हाल्न पाएका छैनन् ।

उदाहरण ३
चैत १५ गते काठमाडौंका धारामा मेलम्चीको पानी आयो । सुरुङ परीक्षण गर्दै सिन्धुपाल्चोकबाट ल्याइएको पानी फागुन २२ गते सुन्दरीजलमा खसेको थियो, १५ गते परिक्षणकै रुपमा घरघरमा पठाइयो । र चैत २० गते राष्ट्रपति र प्रधानमन्त्रीले पानी वितरणको औपचारिक शुभारम्भ नै गर्नुभयो ‍। फागुन २२ गते पानी आउँदा सुन्दरीजलमा विशेष कार्यक्रम गरियो । जहाँ प्रधानमन्त्री नै सरिक हुनुभयो ।

यसरी उद्घाटन र विशेष कार्यक्रम गर्दै काठमाडौंका धारामा आएको मेलम्चीको पानी अहिले आउँदैन । कारण आयोजना पूरा नै भएको थिएन् । प्रधानमन्त्रीकै जोडबलमा हतारमा पानी ल्याइयो । दुई महिना पुरानै पानी बाँडियो र अहिले मर्मत र परीक्षणका लागि भन्दै बन्द गरियो । बाँधस्थलमा बाँकी काम सक्न खटिएका केही मजदुरलाई मंगलबार बेलुकीको बाढीले बगायो । धन्न सुरङमा पानी हाल्न रोकिएका बेला मेलम्चीमा बाढी आएकाले सुरङमा कुनै ठूलो क्षति भएन ।

उदाहरण ४
सरकारले भारतसँग किनेका २ वटा रेल गत असोज ३ गते जनकपुरमा ल्याइयो । नागरिकलाई रेलको सपना देखाउँदै आएका प्रधानमन्त्री ओलीले मात्र हैन सरकारले पनि ठूलै उपलब्धी भनेर प्रचार गर्योा । तर असोजमा नेपाल भित्रिएको रेल अहिलेसम्म गुडेको छैन । रेललाई पालले छोपेर राखिएको छ । रेल कुदाउने पूर्वाधार तयार नगरी सरकारले काम देखाउन रेल ल्याएको थियो । त्यसैले रेल कुदेको छैन ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, धरहरा र मेलम्चीको पानी हतारमा उद्घाटन गरिएका र फुर्सदमा बनाउन लागिएका केही आयोजनाका उदाहरण मात्र हुन् । जनकपुरको रेलसहितका यी उदाहरणले प्रधानमन्त्री ओली र उहाँ नेतृत्वको सरकार कुनै पनि आयोजना पूरा नभए पनि पूरा भएको भनेर लोकप्रियता बटुल्न चाहन्छ भन्ने पुष्टि हुन्छ ।

आयोजना उद्घाटनमा सरकारले हतार गर्दा गुणस्तरीय काम नहुने गरेको प्रमाण गोदावरीको सम्मेलन केन्द्र नै छ । यसरी उद्घाटनकै लागि हतार गरेर काम गर्दा काम राम्रो नहुने र जोखिम बढ्ने खतरा छ भन्नुहुन्छ पूर्वाधारविद् किशोर थापा ।

नेपालमा कुनै पनि विकास आयोजना समयमा पूरा भएको रेकर्ड छैन । यस्तोमा सरकारले काम छिटो गर्न दबाब दिनु सकारात्मक हो । तर यसका लागि अन्तिम समयमा आएर दबाब दिनुले उल्टै जोखिम निम्त्याउँछ । हरेक आयोजनाको निर्माण शुरु र सम्पन्न हुने आफ्नै तालिका हुन्छ । त्यो तालिका अनुसार काम गर्न शुरु देखि नै निर्माण कम्पनीलाई दबाब दिनुपर्छ । हतार गरेर र दबाब दिएर काम सकिएको जस्तो देखाउनु उद्घाटन गर्दैमा त्यो आयोजना पूरा भएको मान्न सकिन्न ।

कुनै पनि आयोजना पूरा नभई उद्घाटन गर्नु र उद्घाटनमा हतारो गर्नु गलत छ । काम गरेको जसलिनकै लागि उद्घाटन गरिएका आयोजनाको सुरक्षा र गुणस्तर माथि नै प्रश्न उठन सक्ने तर्फ सचेत हुनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्