आर्थिक

शेयर बजार : ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि धितोपत्र बोर्डको आलोचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २ गते २०:३२
शेयर बजार : ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि धितोपत्र बोर्डको आलोचना  (भिडियो रिपोर्टसहित)

२ असार २०७८ काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेपछि अहिले विभिन्न कोणबाट वहस भइरहेको छ ।

चलखेल र बदमासी गर्ने व्यक्ति वा संस्थालाई कारवाही गर्नु पर्नेमा नियमनकारी निकायले त्यस्तो कदम नचाली सूचिकृत कम्पनीको नाम सार्वजनिक गर्नु प्रक्रियागत रुपमा गलत भएको भन्दै आलोचना पनि भइरहेको छ ।

शेयरमूल्यमा चलखेल गरी अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएका कम्पनी भन्दै धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सार्वजनिक गर्‍यो । उसले सार्वजनिक गरेको सूचिमा एउटा यस्तो कम्पनी पनि परेको छ । जसको शेयर कारोबार ८ महिनादेखि रोकिएको छ ।

मर्जरमा जाने घोषणा गरेपछि ८ महिनादेखि कारोबार रोकिएको घोडा घोडी लघुवित्तमा पनि समेत चलखेल भएको भनेपछि बोर्डको सूचिमा नै प्रश्न उठेको छ ।

चलखेल गर्नेलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा हल्ला गरेर कम्पनीको सूचि नै निकालेपछि बोर्डको नियतमाथि पनि अर्को प्रश्न छ । शेयर बजारको नियामक निकाय बोर्डले लगानीकर्ताको संरक्षण गर्नु पर्ने भए पनि यो यो कम्पनीमा चलखेल भयो भनेर नाम सार्वजनिक गर्नु प्रक्रियागत रुपमा गलत भएको लगानीकर्ताको दावी छ ।

प्रतिसेयर आम्दानी ऋणात्मक र प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भए पनि पछिल्लो एक वर्षमा ३ सय प्रतिशतसम्म मूल्य बढेकाले अध्ययन गरेर सूचि निकालेको बोर्डले दाबी गरिरहेको छ ।

बढेका कम्पनीका शेयर किन्दा लगानीकर्ता नोक्सानीमा पर्ने खतरा रहेकाले लगानीकर्ताकै हितमा यो सूचि निकालेको उसको तर्क छ । तर बोर्डको यो कदमप्रति बजार सञ्चालक नेपाल स्टक एक्चेञ्ज नेम्से पनि सन्तुष्ट छैन ।

क्रेता बिक्रेता दुवै पक्षको मञ्जुरीले शेयर किनबेच हुने र किनबेच पछि तत्काल दुवै पक्ष खुसी हुने शेयर बजारको एउटा सुन्दर पक्ष हो भने घटबढ यसको नियमिति प्रक्रिया । त्यसैले लगानीकर्तालाई स्वतन्त्र छाड्नु पर्छ भन्नुहुन्छ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद ।

सूचिमा परेका कम्पनीको शेयर कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत भएको आरोप छ । कानूनले नै भित्री कारोबार, सर्कुलर कारोबार र कर्नरिङलाई अपराध मानेको छ । यस्तो स्थितिमा अपराध गर्नेलाई कारबाही नगरी सूचि निकालेर बोर्डले लगानीकर्तालाई हतोत्साहित गरेको लगानीकर्ताको गुनासो छ ।

पछिल्लो समय शेयर बजार बढेसँगै आम लगानीकर्ता शेयरतिर आकर्षित भइरहेका छन् । यस्तो स्थितिमा नवप्रवेशी लगानीकर्तालाई सचेत गराउनु नियामक निकायको जिम्मेवारी हो । तर बोर्डले शेयरबजारमा छानविन गरेर कारवाहीको दायरामा ल्याउनु भन्दा हतारमा काम गरेको हो की भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *