जसपामा अल्पमतमा परेका ठाकुर समूहद्वारा कार्यकारिणी समितिमा १७ सदस्य मनोनित

२ असार २०७८ काठमाडौं । अल्पमतमा परेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूनिकट १७ जनालाई पार्टीको कार्यकारिणी समितिमा मनोनित गर्नुभएको छ ।
अध्यक्ष ठाकुरले आफू निकट ११ र अर्का नेता राजेन्द्र महतो निकट ६ जनालाई कार्यकारिणी समितिमा मनोनित गर्नुभएको हो । महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा विभाजनको संघारमा छ ।
ठाकुर पक्ष अहिले ओली नेतृत्वको सरकारमा छ भने पार्टी अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको समूह विपक्षी गठबन्धनमा सहभागी छ । ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यलाई हटाएर त्यसको ठाउँमा आफूनिकट नेतालाई मनोनित गर्नुभएको हो ।
ठाकुरले पहिलो अध्यक्षमा आफ्नो नाम राख्दै दोस्रो अध्यक्षको ठाउँ खाली राख्नुभएको छ । ठाकुरले आफू निकट डा. विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरिया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डल लगायतलाई कार्यकारिणी समितिमा मनोनित गर्नुभएको छ ।
प्रतिक्रिया