Political Hightlights

संसद विघटन गलत भन्ने स्वीकार नगरेसम्म सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने एमाले नेपाल समूहको निर्णय

हिमालय टिभी
२०७८ जेठ २४ गते १६:५९
संसद विघटन गलत भन्ने स्वीकार नगरेसम्म सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता नलिने एमाले नेपाल समूहको निर्णय

२४ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव पार्टी एकता गर्ने नियतका साथ नआएको निष्कर्ष निकालेको छ ।

नेपाल खनाल समूहको आज बसेको स्थायी समिति बैठकले प्रस्तावमा उल्लेखित बुँदा स्पष्ट नभएको भन्दै यही रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको नेता बेदुराम भुषालले जानकारी दिनुभयो । बैठकले संसद् पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने पनि निर्णय गरेको छ ।

नेपाल खनाल समूहले अध्यक्ष ओलीले संसद विघटन गलत हो भनेर स्वीकार नगरेसम्म हस्ताक्षर फिर्ता नलिने बताएको हो । बैठकले प्रस्तावका बुँदा थप स्पष्ट पार्न आग्रहसहित लिखित रुपमै जवाफ फर्काउने निर्णय पनि गरेको नेता भुषालले जानकारी दिनुभयो । अध्यक्षको प्रस्तावमा संसद विघटनबारे केही उल्लेख नभएकोमा नेपाल खनाल समूहले आशंका गरेको छ ।

अध्यक्ष एकताका निम्ति भन्दै हिजो ६ बुँदे प्रस्ताव अघि सार्नुभएको थियो । प्रस्तावको चौथो नम्बर बुँदामा ‘अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता हुने हुने छ’ भन्ने उल्लेख गरेकोमा नेपाल खनाल समूहको आपत्ति छ ।

नेपाल– खनाल समूहका स्थायी कमिटी सदस्यको भर्चुअल बैठकमा केही सदस्यले भने प्रस्तावलाई सकारात्मक रुपमा लिँदै थप वार्ता अघि बढाउनुपर्ने बताएका थिए ।

तर अधिकांश सदस्यले भने अध्यक्ष ओलीले फेरि पनि एकताप्रति इमान्दार प्रयास नगरेर छलछाम गर्न खोजेको भन्दै यसमा नफस्न नेतृत्वलाई सुझाव दिएका थिए ।

अध्यक्ष ओलीको प्रस्तावमा २ जेठ २०७५ अगाडिको पार्टी संरचना, विधान र नेतृत्वमा फर्किएको उल्लेख नगरी अमूर्त भाषा प्रयोग भएको नेपाल खनाल समूहको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्