Political Hightlights

जसपामा निस्कासनको होड, पार्टी विभाजन रोक्न अब संभव छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १८ गते २०:३०
जसपामा निस्कासनको होड, पार्टी विभाजन रोक्न अब संभव छ ? (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजन उन्मुख भएको छ । सत्ता समीकरणलाई लिएर चरम विवादमा फसेको जसपाका दुई पक्षले एक अर्कोलाई पार्टीबाट निष्कासन गरेका छन् । बहुमत पक्षले अध्यक्षसहित चार नेतालाई नै साधारण सदस्यबाट समेत निकालेको छ ।

बहुमत पक्षको केन्द्रीय कार्यकारिणी सदस्यको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गरी सरकारमा जाने तयारीमा रहेको ठाकुर महतो पक्षले पनि अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निकालेको बताएको छ । दुबै पक्षले यसअघि एक अर्कालाई स्पष्टिकरण सोधेका थिए ।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष यादव र बाबुराम भट्टराई पक्षको बहुमत छ । बहुमत पक्षले चार नेतालाई निकालेको भन्दै निर्वाचन आयोगमा जानकारी समेत गराइसकेको छ । चारजना नेताले पार्टी विरोधी गतिविधी गरेकाले साधारण सदस्यबाटै निकाल्नुपरेको बहुमत पक्षको दाबी छ ।

आफुमाथि कारवाही भएको समाचार आउनासाथ अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो समूहले अर्का अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरेको घोषणा गर्‍यो । आफुहरुले जस्ताको तस्तै जवाफ दिएको यो पक्षको प्रतिक्रिया छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीबीच एकिकरण गरेर १३ महिना अघि जनता समाजवादी पार्टी बनाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन गरेपछि नै जसपामा विवादको विउ रोपिएको थियो ।

तर त्यतिबेला यादव पक्षधर हावी भयो । र सिंगो पार्टी नै प्रतिगमनविरुद्धको संघर्षमा लाग्यो । संसद पुनर्स्थापना भएपछि भने ठाकुर पक्ष प्रधानमन्त्री ओलीसँग नजिक भयो भने यादव भट्टराइ पक्ष जसरी पनि नयाँ सत्ता समिकरणको अडानमा लाग्यो । यही बिवाद बढ्दै जाँदा अहिले जसपा विभाजनको अवस्थामा पुगेको छ । तर यो पार्टी फुट नभइ केही नेतालाई मात्रै हटाइएको बहुमत पक्षको दाबी छ ।

प्रधानमन्त्रीसँग हरेक दिनजसो बैठक गरिरहेको ठाकुर पक्ष सरकारमा जाने तयारीमा छ । संसद विघटन पछि कमजोर बनेको ठाकुर पक्षले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइदिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ । दुईवटा पार्टीको अभ्यास गरे पनि ठाकुर पक्ष पनि अझै पार्टी एकता बचाउनुपर्ने तर्क गरिरहेको छ ।

नेपालमा अधिकांश दलको विभाजनमा सत्ता नै मुख्य कारण देखिएको छ । मधेस केन्द्रीत दलमा त यो समस्या झनै बढी छ । अहिले पनि बर्तमान सरकारमै जाने वा नयाँ सरकार बनाउने भन्ने बिबादकै कारण जसपा विभाजनको संघारमा पुगेको छ । तर अहिलेको बिबादमा बाह्य शक्तिको समेत हात रहेको बहुमत पक्षका नेताको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्