Political Hightlights

विभाजनको बाटोमा जसपा, धमाधम एकले अर्कोलाई पार्टीबाट निस्कासन

हिमालय टिभी
२०७८ जेठ १८ गते १७:०३
विभाजनको बाटोमा जसपा, धमाधम एकले अर्कोलाई पार्टीबाट निस्कासन

१८ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजन उन्मुख भएको छ । पार्टीको दुई पक्षले एक अर्कोलाई पार्टीबाट निष्कासन गरेका छन् ।

बहुमत पक्षको हिजो बसेको कार्यकारिणी सदस्यहरुको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो ।

जसपाको केन्द्रीय कार्यकारिणीमा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षको बहुमत छ । चार नेतालाई पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा गराइएको जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिनुभयो ।

यसअघि यादव–भट्टराई समूहले चार जना नेतालाई नै स्पष्टिकरण सोधेको थियो ।

त्यसलगत्तै अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ। महन्थ–राजेन्द्र पक्षको बबरमहलमा बसेको बैठकले यादवलाई पार्टीबाट निकाल्ने निर्णय गरेको हो ।

बैठकमा सरकारमा जाने नेताहरुको विषयमा समेत छलफल भएको जनाइएको छ । सत्ता समीकरणलाई लिएर जसपामा तीब्र विवाद भइरहेको छ । ठाकुर पक्ष सरकारमा जाने तयारीमा छन् ।

ठाकुर पक्षले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तता दिने र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अडान राखेका छन् ।

संसद विघटनपछि कमजोर बनेको ठाकुर पक्षले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइदिन प्रधानमन्त्रीलाई आग्रह गरेको बताइएको छ । प्रधानमन्त्री ओलीसँग हिजो ठाकुर पक्षले ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जाने सहमति गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्