एमाले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ नेपाल–खनाल समूहले नदिने
१० जेठ २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहका निवर्तमान सांसदहरुले पार्टी निर्णयविपरीत कदम चालेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ नदिने भएका छन् ।
नेकपा एमालेको नेपाल(खनाल समूहका नेताहरुले अध्यक्ष ओलीलाई स्पष्टिकरण नबुझाउने निर्णयमा पुगेका हुन् । एमालेले नेपाल–खनाल समूहका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायतलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन शनिबार पत्र पठाएको थियो ।
पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टिकरण बुझाइरहन आवश्यक नरहेको नेपाल–खनाल समूहले जनाएको छ ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले स्पष्टिकरण पत्र सम्बन्धमा छलफल भएपनि जवाफ भने आवश्यक नभएको निश्कर्षमा नेताहरु पुगेको बताउनुभयो ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टिकरण उपलब्ध गराउन नेपाल–खनाल समूहका ११ प्रतिनिधि सभा सांसदलाई पत्र पठाउनुभएको थियो ।
स्पष्टिकरणमा गएको वैशाख २७ गते प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण सोधिएको छ ।
यस्तै जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न सोधिएको छ ।
प्रतिक्रिया