Political Hightlights

एमाले कार्यदलको बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७८ जेठ ५ गते १३:२४
एमाले कार्यदलको बैठक आज पनि बस्दै

५ जेठ २०७८ काठमाडौं । आन्तरिक विवाद समाधानका लागि गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज बस्दैछ।

कार्यदल सदस्य रहनुभएका एमाले नेता सुवासचन्द्र नेम्बाङले आज बस्ने बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि लगायतका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकमा भोलि हुने हुने राष्ट्रिय सभाको उपनिर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ। हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ।

कार्यदलको पहिलो बैठकले एकता कमजोर हुने र एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ। सिंहदरबारमा बसेको बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको थियो।

नेता भीम रावल र प्रदीप ज्ञवालीले एकै स्वरमा एकताको सन्देश दिने गरी कार्यदलले काम थालेको र सहयोगको अपेक्षासहित अपील गरेको जनाउनुभएको थियो ।

बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो। आज त्यस विषयमा थप छलफल हुने नेता नेम्बाङले बताउनुभयो ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ । वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहनुभएको छ ।

कार्यदलले पार्टीलाई ०७५ साल जेठ २ गतेको संरचनामा फर्काउने उपाय र एमाले प्रवेश गरेका माओवादी नेताहरुको व्यवस्थापनलाई केन्द्रमा राखेर समाधान खोज्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्