Political Hightlights

ओली सरकारमा नजाने जसपा अध्यक्ष यादव र ठाकुरबीच सहमति

हिमालय टिभी
२०७८ जेठ ४ गते १३:४७
ओली सरकारमा नजाने जसपा अध्यक्ष यादव र ठाकुरबीच सहमति

४ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच केपी शर्मा ओली नेतृत्वको सरकारमा नजाने सहमति भएको छ ।

दुई अध्यक्षबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमतिसमेत भएको छ । योसँगै जसपाको विभाजन तत्कालका लागि रोकिएको छ । पार्टी सरकारमा सहभागी हुने र नहुने विवाद चर्केर फूटको डिलमै पुगेका बेला दुई नेताबीच भएको छलफलमा पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति भएको हो ।

ठाकुर र यादवले निकालेको विज्ञप्तिमा पार्टी प्रतिपक्षमै बसेर भूमिका निर्वाह गर्ने उल्लेख छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा नेतृत्व लिन पछि नहट्ने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले त्यसलाई फेल गराएर जसपाकै नेतृत्वमा बहुमतको सरकार बनाउन अघि सर्नुपर्ने अध्यक्ष यादवको प्रस्तावमा ठाकुर सहमत भएको बताइएको छ । तर कांग्रेस र माओवादी केन्द्रले नमान्ने तर्क ठाकुरले गर्नुभएको छ ।

यस्तै संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको विषयमा पनि छलफल गर्न सकिने ठाकुरको भनाइ रहेको बताइएको छ । दुई अध्यक्षबीच सहमति भएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक समेत बोलाइएको छ । जेठ ८ र ९ गतेका लागि बैठक बोलाइएको हो ।

कार्यकारिणी समितिमा अध्यक्ष यादवको बहुमत देखिएको छ भने संसदमा अध्यक्ष ठाकुरको बहुमत छ । दुवै अध्यक्ष पार्टीलाई एकतावद्ध राख्न सहमत भएका छन् ।

दुई अध्यक्षको विज्ञप्तिमा पार्टीमा उत्पन्न भएका समस्याहरुलाई आफू संगठित रहेको पार्टीभित्र छलफल गरी पार्टी विधान अनुसार समाधन गरिनुपर्नेमा पनि जोड दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्