खेलकूद

नेपाली खेलकुदमा फ्रेन्चाईज शैली भित्र्याउने श्रेय कसलाई ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ४ गते ६:२५
नेपाली खेलकुदमा फ्रेन्चाईज शैली भित्र्याउने श्रेय कसलाई ? (भिडियो रिपोर्टसहित)

४ जेठ २०७८ काठमाडौं । नेपाली खेलकुदमा फ्रेन्चाइज शैली भित्र्याउने श्रय जान्छ धनगढी प्रिमियर लीग डीपीएललाई । पाँच वर्ष अघि व्यावसायिक क्रिकेट प्रतियोगिताको अवधारणसहित डीपीएलले अक्सनमार्फत् खेलाडी खरिद गरि बनाइएका टोली समावेश गदै पहिलो पटक प्रतियोगिता आयोजना गर्‍यो ।

त्यसपछि अन्य प्रतियोगितामा पनि यसको अभ्यास भएको छ । फूटबलमा भने हालै मात्र पहिलो पटक फेन्चाई प्रतियोगिता नेपाल सुपर लिग एनएसएल भयो । यस प्रतियोगितामा पनि उनै डिपिएलका आयोजक सहभागी भए, तर फरक भूमिकामा ।

पहिलो फ्रेन्चाई फूटबल लीग नेपाल सुपर लीग एनएसएलमा सहभागी टोली र त्यसका मालिक सार्वजनिक कार्यक्रममा धेरैको लागि सरप्राइजका रुपमा देखा परेका थिए, धनगढी प्रिमियर लिग डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाष शाही ।

धनगढीमा शैक्षिक व्यवसाय संचालन गरिरहेका उनी नेपाली क्रिकेटको लागि नौलो नाम भने होइन । तर फुटबलमा उनको आगमन धेरैको सोचाई भन्दा पर थियो । एनएसएलमा सहभागी ७ टोली मध्ये धनगढी एफसीको मालिकका रुपमा देखा परेका शाहीको टोलीबाट कस्तो प्रदर्शन हुने हो, धेरैको चासोको विषय पनि थियो । तर जसरी अक्सन मार्फत खेलाडी छनोट र तयारी पछि धनगढी एफसीको प्रदर्शन देखियो । त्यो साँचिकै लोभलाग्दो सफलता मान्न सकिन्छ ।

एनएसएलका लागि आयोजकले धेरैलाई टोली खरिदका लागि प्रस्ताव गरे । त्यस्तैमा एक थिए शाही । जो आफैँ पनि खेलकुदलाई व्यावसायिक बनाउने अभियानमा लागिरहेका थिए । त्यसैले एनएसएल आयोजकको प्रस्ताव पछि उनी टिम निर्माणमा लागे ।

सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको तदर्थ समितिका अध्यक्षसमेत रहेका उनका लागि फूटबलमा संलग्नता नयाँ अनुभव थियो । व्यवस्थापक टोली पनि बन्यो । अनि गृहकार्य सुरु भयो, नेपालकै पहिलो फ्रेन्चाईज फूटबल लिगका लागि । अक्सनबाट खेलाडी छनोट र रणनीतिमा उनलाई व्यवस्थापक टोलीले राम्रै साथ दियो ।

क्रिकेटमा जस्तै व्यालेन्स टोली फुटबलमा पनि बनाउन चाहे अनुसार नै टोली बन्यो । मार्की खेलाडीमा विशाल राईलाई ल्याएको धनगढीले आइकोनिक खेलाडीमा किरण चेम्जोङलाई अन्तिम समयमा अनुबन्ध गर्न सफल भयो । लिगको आफ्नो पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० गोलले हार्दै स्तब्ध बनेको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३–० गोललेनै हराउँदै उत्कृष्ट पुनरागमन गर्न सफल भयो ।

त्यसपछिका खेलमा लय समातेको धनगढी फाइनलमा भने यसअघि दुई पटक हराएको काठमाडौंसँग १–० ले हार्दै उपविजेतामा सिमित भयो । तर प्रतियोगितामा जसरी आफ्ना खेलाडीले खेले त्यसबाट भने शाही सन्तुष्ट देखिएका छन् ।

फूटबल बुझेर भन्दा पनि एउटा नयाँ चुनौती आत्मसाथ गर्न आएको बताउँदै आएका उनको लागि तुलनात्मक रुपमा अन्य टोलीलाई भन्दा केहि दबाब भने थियो । डिपिएल गर्दा हरेक संस्करणमा घाटा ब्यहोरेका उनलाई एनएसएलमा आउनु र अझ टोलीको मालिक भएर आउनु आर्थिक रुपमा पनि चुनौतीपूर्ण थियो ।

सहभागी अरु ६ वटा टोली व्यापारिक घरानासँग जोडिएका छन् । त्यसैले पनि उनलाई व्यापारिक घरानाको जसरी पैसा खर्च गर्न सहज थिएन । उनले एक महिनाको समयमा टोलीका लागि प्रायोजकहरु खोजेर त्यो समस्या टारे । प्रतियोगिता आयोजक हुँदा र टोलीको मालिक हुँदाको फरक उनले अनुभव गरेका छन् ।

जे होस् आर्थिक स्रोतले मात्र भन्दा पनि दृढ इच्छाशक्ति भएमा खेलकुदलाई अगाडी बढाउन सक्ने उनले फेरी प्रमाणित गरिदिएका छन् । खेलकुदमा पागलपनको हदसम्म लागेका उनी प्रतियोगिता आयोजना गर्दा होस् वा सहभागी हुँदा, त्यसबाट आउने नगदलाई मात्र फाइदाको रुपमा लिन नहुने बताउँ छन् ।

स्थानीय प्रतियोगिता एसपीएसबाट सुरु भएको क्रिकेट यात्रा डिपिएल जस्तो ब्राण्ड बन्नु आफैमा ठूलो उपलब्धी भएको उनको बुझाई छ । र एनएसएलमा पनि उपविजेता बनेको आफ्नो टोलीलाई लिएर उनी उत्तिकै आशावादी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्