Political Hightlights

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, तटस्थ बस्ने

हिमालय टिभी
२०७८ वैशाख २६ गते १२:५३
जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने, तटस्थ बस्ने

२६ वैशाख २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराउनुभएको छ ।

नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेर ठाकुरले विश्वासको मत नदिने बरू तटस्थ बस्ने जानकारी गराउनुभएको हो । आफ्ना सबै माग सम्बोधन नभएकाले विश्वासको मत दिन नसकिने ठाकुरको तर्क छ ।

केही माग सम्बोधन भएकाले प्रधानमन्त्रीको विपक्ष नउभिने तर विश्वासको मत दिन नसक्ने बताएको नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

भोलि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई साथ नदिने बताएका ठाकुर र महतो कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा पनि मौन बस्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्नु अघि कांग्रेस सभापति देउवालाई भेटेका ठाकुर र महतो वैकल्पिक सरकार बनाउने देउवाको प्रस्तावमा मौन बस्नुभएको हो ।

कांग्रेस सभापति देउवाले ओलीलाई विश्वासको मत नदिने र वैकल्पिक सरकार बनाउने प्रस्ताव गरे पनि ठाकुर र महतोबाट कुनै प्रतिक्रिया नआएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।

देउवासितको भेटमा ठाकुर र महतोले चुनावमै जानुपर्नेमा जोड दिनुभएको छ । जसपाका अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष देउवासित मिलेर ओलीलाई हटाउन तयार भएपनि ठाकुर र महतो समूह तटस्थ बस्ने भएको छ ।

तर ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना सकिएको छ । एमालेकै नेपाल–खनाल पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्