Political Hightlights

ओलीसँगको वार्ता निष्कर्षविहीन भएपछि सामूहिक राजीनामा दिने तयारीमा नेपाल–खनाल समूह

हिमालय टिभी
२०७८ वैशाख २६ गते ७:३१
ओलीसँगको वार्ता निष्कर्षविहीन भएपछि सामूहिक राजीनामा दिने तयारीमा नेपाल–खनाल समूह

२६ वैशाख २०७८ काठमाडौं । केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत नेकपा एमालेको माधव नेपाल समूहका सांसदहरुले आज सामूहिक राजीनामा दिने भएका छन् ।

माधव नेपाल–झलनाथ खनाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको छ ।

हिजो करिव ६ घण्टा छलफल गरेपछि नेपाल पक्ष ओलीलाई साथ दिनुभन्दा सामूहिक राजीनामा दिनु उपयुक्त हुने निर्णयमा पुगेको हो। नेपाल पक्षका सांसदले हिजो साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधवकुमार नेपाललाई बुझाएका छन् ।

नेपाल निकट एक नेताका अनुसार २० जना सांसदको राजीनामा तयार छ । माधव नेपालसहित भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई सत्ताच्यूत नगरी एमाले एकता सम्भव नहुने पक्षमा उभिएका छन् ।

यसबीचमा सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,योगेश भट्टराई,गोकर्ण विष्ट,सोमप्रसाद पाण्डे लगायतले पार्टी एकताका लागि ओली पक्षसँग छलफल गरेका थिए । तर कांग्रेस सभापति शेरवहादुर देउवाले नेपाल पक्षका सांसदको राजीनामा नआई ओलीलाई हटाउने प्रक्रिया अघि बढाउन नचाहेपछि नेपाल निकट सांसदको राजीनामा पत्रमा हस्ताक्षर गराइएको हो ।

कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रधानमन्त्री ओलीले भोली विश्वासको मत लिनका लागि संसद बैठक बोलाइएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन ।

नेपाल समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ । एमाले बरिष्ठ नेता नेपालले आफूहरुले प्रधानमन्त्री ओलीलाई सच्च्याउन निकै प्रयास गरेको तर उहाँ नसच्चिएको बताउनुभएको छ ।

नेपाल समूहका एक नेताका अनुसार सुरुमा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फका सांसदले मात्रै राजीनामा गर्ने कुरा भए पनि आज समानुपातिक तर्फका सांसदले पनि राजीनामा गर्ने सम्भावना छ ।

अध्यक्ष ओलीले विधानसमेत संशोधन गरेर नेपालसहित चार नेतालाई ६ महीनाका लागि पार्टी सदस्यबाट निलम्बन गर्नुका साथै भने ३० जना सांसदलाई स्पष्टीकरण सोध्नु भएको थियो। नेपाल पक्षका पत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्