गण्डकीमा २७ गते मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ पोखरा । सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको गण्डकी प्रदेश सभा बैठक २७ गते बस्ने भएको छ ।
त्यसैदिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नै गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका बारेमा छिनोफानो हुनेछ ।
कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकमा २७ गते बैठक बसेर मतदान गर्ने सहमति भएको हो ।
वैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक शुरू हुन सकेको थिएन । सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । १५ गते अविश्वास प्रस्तावउपर मतदान गर्ने कार्यसूची थियो ।
तर, मतदानकै दिन जनमोर्चा सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि दलकी प्रमुख सचेतक पियारी थापाले ‘खोजी गरिपाऊँ’ भन्दै निवेदन दिए लगत्तै बैठक स्थगित भएको थियो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावलाई जनमोर्चाले पनि साथ दिने वचन दिएको छ ।
सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ र एक जना स्वतन्त्र सांसद छन् ।
स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले अहिलेकै सरकारलाई समर्थन गरेर मन्त्री भइसक्नुभएको छ ।सरकार ढाल्न ३१ मत चाहिन्छ । र जनमोर्चाले समर्थन गर्दा पुग्नेछ ।
प्रतिक्रिया