Political Hightlights

माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

हिमालय टिभी
२०७८ वैशाख २२ गते ७:५६
माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

२२ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने भएको छ । हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । नेकपा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसहितको समर्थनमा २०७४ साल फागुन ४ गते प्रधानमन्त्रीको शपथ लिनु भएको थियो ।

झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएपछि कमजोर बन्दै जानु भएको छ ।

प्रधानमन्त्रीले आगामी वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै हुनुहुन्छ । राष्ट्रिय जनता पार्टीका केही सांसदको समर्थनमा विश्वासको मत पाउने प्रधानमन्त्री ओलीको अपेक्षा छ । तर एमालेकै माधवकुमार नेपाल समूहबाट मत पाउने सम्भावना कमजोर बन्दै गएको छ ।

वैशाख २७ गते नै वा एक दिनअघि सामूहिक राजीनामा दिनेबारे नेपाल समूह आन्तरिक छलफलमा छ । नेपाल समूहसँग ३५ भन्दा बढी सांसद रहेको सो समूहले दाबी गर्दै आएको छ ।

नेपाल समूहले समेत ओलीलाई मतदान नगरी सामूहिक राजीनामा दिएमा राजपाको एक समूहले समर्थन गरे पनि ओलीलाई बहुमत पुग्ने छैन । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा नेकपा एमालेको १ सय २१ सिट छ ।

कांग्रेसको ६३, पार्टी छाडेका ४ पदमुक्त भएपछि माओवादी केन्द्रको ४९, जसपाको ३४, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपाका एक एक सांसद छन् भने स्वतन्त्रतर्फका एक सांसद छन् ।

कांग्रेसका दुई र जसपाको दुई जना सांसद निलम्बित छन् । प्रतिनिधिसभामा अहिले रहेका २ सय ६७ सांसदको आधारमा बहुमतका लागि १ सय ३४ सांसाद चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्