गण्डकी प्रदेशमा सत्ता ढाल्ने र जोगाउनेबीच यस्तो प्रतिस्पर्धा
१५ वैशाख २०७८ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव टेबुल भएसँगै सत्ता ढाल्ने र जोगाउने प्रतिस्पर्धा तीव्र बनेको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपा मिलेर मुख्यमन्त्री गुरुङविरुद्ध गत वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
प्रस्तावमाथि प्रदेश सभामा सोमबारदेखि छलफल सुरु भएको हो। छलफल आज पनि जारी रहनेछ। हिजोको बैठक भने सत्तापक्षकै सांसदले पीसीआर परीक्षण माग गर्दै अवरोध गरेका थिए।
त्यसपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदको कोरोना परीक्षण गरेर आज दिउँसो १ बजे बैठक बस्ने निर्णय गरेको छ। प्रदेश सभा सदस्य कसैमा संक्रमण देखिएमा उसले बैठकमा बोल्न पाउने छैन।
मतदान भने गर्न पाउने सहमति भएको छ। अविश्वास प्रस्ताव दर्ता गरेका दलले आफ्ना सांसदलाई यसअघि नै पोखरा नछाड्न निर्देशन दिइसकेका छन्।
चलखेल हुन नपाओस् भनेर उनीहरूले आफ्ना सांसदलाई सोमबारदेखि एउटै होटलमा राखेका छन्। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुने सम्भावना छ। अविश्वास प्रस्ताव पास गराउन जसपाका २ र राजमोका ३ सांसदको मत निर्णायक हुनेछन्।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न ३१ सांसदको मत आवश्यक छ।
अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ सांसदले हस्ताक्षर गरेकाले प्रस्ताव पास गर्न अब ३ सांसदको खाँचो छ। त्यसलाई परिपूर्ति गर्न राजमोका ३ सांसद सहमत भइसकेका छन्।
प्रदेश सभामा माओवादी केन्द्रका १२, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन्। फ्लोर क्रस नभए अविस्वास प्रस्ताव पारित हुनेछ ।
प्रतिक्रिया