Political Hightlights

कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदमाथि संस्थापन पक्षको कारबाही (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १० गते १५:१५
कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदमाथि संस्थापन पक्षको कारबाही (भिडियो रिपोर्टसहित)

१० वैशाख २०७८ काठमाडौं । नेकपा(एमाले)ले कर्णाली प्रदेशमा पार्टीको ह्वीपविपरीत फ्लोर क्रस गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

आज नेकपा(एमाले)को महाधिवेसन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा पार्टीको ह्वीपविपरीत फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारको पक्षमा मतदान गर्ने चार जना प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहनुभएको छ । उहाँहरु प्रदेश सभा सदस्यसमेत नरहेको जानकारी प्रदेश सभा संसद सचिवालयलाई गराउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।

कर्णाली प्रदेश सभाको एक र संघीय संसदको २७ जना सांसदहरुलाई सोधिएको स्पष्टिकरणको अधिकांशको जवाफ आएको भन्दै त्यसको थप अध्ययन गरेर आवश्यक निर्णय गर्ने अख्तियारी स्थायी कमिटी बैठकलाई दिएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

बैठकले पार्टीको स्थायी कमिटी पनि गठन गरेको छ । साबिक नेकपामा स्थायी कमिटी सदस्यको रुपमा रहेका १९ जना सदस्यहरुलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । बैठकले समसामयिक राजनीतिक विषयको सन्दर्भमा ११ बुँदे प्रस्ताव पारित गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

समानान्तर गतिविधि गर्नेहरुलाई समानान्तर गतिविधि रोक्न तथा पार्टीको मूल प्रवाहमा फर्किन आव्हान गरेको छ । जनप्रतिनिधिलाई पनि विगतको भूमिकाको आत्मसमीक्षा गर्दै पार्टीमा फर्किन आव्हान गर्दै पार्टीमा बिना पूर्वाग्रह स्वागत गर्ने, सम्मानपूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने पनि निर्णय गरेको छ ।

बैठकले निकट भविष्यमा हुने उपनिर्वाचनको तयारीमा सम्पूर्ण रुपले तयार हुन पार्टीका सबै कमिटीलाई आव्हान गरेको छ । नयाँ भेरियन्टसहित कोरोना संक्रमण बढेकाले सरकारलाई थप प्रभावकारी कदमका लागि ध्यानाकर्षण गराएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

सबै नागरिकहरुलाई कोरोनाको विरुद्द स्वास्थ्य सतर्कताको पालना गर्दै लडाई सफल पार्नको लागि आव्हान पनि गरिएको छ भने पार्टीका नेता, कार्यकर्तालाई स्थानीय तहसम्मै कोभिडविरुद्धको अभियानमा स्वयमसेवी भएर लाग्न भनिएको छ ।

बैठकले महाधिवेसन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ । महाधिवेसन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जनसंगठनको विभिन्न जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्