कर्णालीमा ओलीकै शैली, विश्वासको मत दिन एमाले सांसद मन्त्री नियुक्त

Himalaya Television
२०७८ वैशाख ५ गते ६:४६

कर्णालीमा ओलीकै शैली, विश्वासको मत दिन एमाले सांसद मन्त्री नियुक्त

५ वैशाख २०७८ सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकार जोगाउन विश्वासको मत दिने नेकपा (एमाले) का चारमध्ये तीन सांसदलाई मन्त्रीको जिम्मेवारी दिनु भएको छ ।

शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने क्रममा एमालेका माधव नेपाल पक्षीय चार सांसदले शाहीका पक्षमा मतदान गरेका थिए। पार्टी संसदीय दलको ह्वीप विपरीत चार जनाले फ्लोर क्रस गर्दा शाहीको सत्ता जोगिएको थियो।

तीनै चारमध्ये तीनलाई शनिबार शाहीले मन्त्रीको जिम्मेवारी सुम्पिनु भएको हो । संघीय मन्त्रिपरिषदमा आफूलाई सहयोग गर्ने पूर्वमाओवादी खेमाका सांसदमाथि दल त्यागको कारबाही भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पुनः मन्त्री नियुक्त गरेका थिए। संघमा प्रधानमन्त्री ओलीले अपनाएकै बाटो प्रदेशमा मुख्यमन्त्री शाहीले लिनु भएको छ ।

शाहीलाई एमालेका नेपाल पक्षका प्रकाश ज्वाला, नन्दसिं बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले विश्वासको मत दिनु भएको थियो । जसमा ज्वालबाहेक अन्यलाई शनिबार मन्त्रीको जिम्मेवारी दिइएको हो।

निर्णय अनुसार बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै थापालाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

माओवादी केन्द्रका तर्फबाट कृषिमन्त्री विमला केसीलाई हटाएर यसअघि पर्यटन मन्त्री भएका बुढालाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यसअघि भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीलाई बैंकिङ कसुरको अभियोग लागेपछि पदबाट हटाइएको थियो। त्यसपछि लामो समयदेखि मन्त्रालय मन्त्रीविहीन थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs