आर्थिक

अत्यधिक गर्मी हुने रुपन्देहीमा वाटरपार्कमा लगानी बढ्दो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३१ गते १७:१५
अत्यधिक गर्मी हुने रुपन्देहीमा वाटरपार्कमा लगानी बढ्दो (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ रुपन्देही । रुपन्देही अत्यधिक गर्मी हुने जिल्लामा पर्छ । चैत्रदेखि कार्तिक महिनासम्म गर्मी हुन्छ । यसैलाई ध्यान दिएर जिल्लामा वाटर पार्कमा लगानी गर्नेको संख्या बढेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न व्यवसायीले संरचना निर्माणमा करोडौं लगानी गरेका छन् ।

भैरहवा नेपालगञ्जपछि दोश्रो गर्मी हुने स्थान हो । छिमेकी मूलक भारतबाट नजिकै पर्ने भैरहवामा स्थानीय व्यापारीले वाटर पार्कमा लगानी गर्न थालेका छन् ।

कोरोनाले पर्यटन व्यवसाय शिथिल बन्दै जाँदा भैरहवाका ५ जना युवा मिलेर ४८ करोड लागतमा लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सेन्टर सञ्चालनमा ल्याएका छन् । बेलहिया नाकाबाट करिब १ किलोमिटरको दूरीमा भारतीय र स्वदेशी पर्यटकलाई लक्षित गर्दै पार्क सञ्चालनमा ल्याइएको छ । लगानी बढाएर १ अर्ब रुपैयाँ पुर्‍याउने सञ्चालकको लक्ष्य छ ।

रुपन्देही कै सैनामैनामा पनि स्थानीय ३ जना युवाको संयुक्त लगानीमा ‘सैनामैना वाटर वर्ल्ड’ सञ्चालनमा आएको छ । शहरीकरणतर्फ उन्मुख भएको सैनामैनामा करिब २ विघा जग्गा लिजमा लिएर करिब १६ करोडको लगानीमा वाटरपार्क सञ्चालनमा ल्याईएको हो । बालबालिका र युवायुवतीलाई छुट्टाछुट्टै स्विमिङ्ग पुल निर्माण गरिएको छ । गर्मी सुरु भएपछि वाटरपार्क भरिन थालेका छन् ।

गर्मी छल्न वाटरपार्कमा भीड लाग्दा पर्यटन व्यवसाय चलायमान हुने व्यवसायीको अपेक्षा छ । रुपन्देहीमा ८ महिना नै गर्मी हुने गर्छ । यसले गर्दा पनि वाटरपार्कमा लगानीकर्ता आकर्षित भएका छन् ।

रुपन्देहीमा अहिलेसम्म ४ वटा वाटरपार्क सञ्चालनमा आएका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ । रुपन्देहीमा पर्यटकीय गतिविधि बढ्दै जाँदा कोरोना संक्रमण फैलिन थालेकाले व्यवसायीमा केही चिन्ता भने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *