Political Hightlights

कारबाहीमा परेका नेपाल र रावलको सांसद पद पनि खोसिन सक्ने

हिमालय टिभी
२०७७ चैत १७ गते ८:२५
कारबाहीमा परेका नेपाल र रावलको सांसद पद पनि खोसिन सक्ने

१७ चैत २०७७ काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले साधारण सदस्यसमेत नरहने गरी माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेपछि दुबै जनाको सांसद् पनि खोसिन सक्ने आँकलन गरिएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनले सांसदले दल त्याग गरेमा वा निजलाई दलबाट निष्कासन गरेमा सांसद पद रिक्त हुने व्यवस्था गरेको छ ।

ऐनको दफा ३४ (१) मा संघीय संसद् वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले यस ऐनबमोजिम दल त्याग गरेमा वा निजलाई दलबाट निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले सम्बन्धित सभाको सचिवालयलाई दिनुपर्ने उल्लेख छ ।

सूचना प्राप्त भएपछि संघीय संसद् वा प्रदेश सभा सचिवालयले त्यस्तो सूचना सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षसमक्ष पेस गर्नेछ । त्यसपछि, सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले १५ दिनभित्र जानकारी सम्बन्धित सदनमा दिनेछ ।

ऐनअनुसार दल त्याग गरेको वा दलले कारबाही गरेको सूचना संसद् सचिवालयले सूचनापाटीमा टाँसेपछि वा सदनमा जानकारी गराएपछि सांसदको पद रिक्त हुनेछ ।

ऐनबमोजिम सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित सचिवालयले निर्वाचन आयोगलाई १५ दिनभित्र दिनुपर्ने व्यवस्था छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ ले तीनवटा अवस्थालाई दल त्यागका रूपमा मानेको छ ।

सम्बन्धित व्यक्तिले दलको सदस्यबाट लिखित रूपमा राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा र अर्को दल गठन गरेमा दल त्याग मानिन्छ । दल त्याग गरेमा निर्वाचित भएको पद दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने कानुनी व्यवस्था छ ।

सांसद पद सकिने अर्को प्रावधान हो– दलबाट निष्कासन । दलको ह्विप नमानेमा मात्रै दलबाट निष्कासन हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्