Political Hightlights

एमाले अध्यक्ष ओलीद्वारा नेपाल र रावल पार्टी सदस्यबाट निलम्बित

हिमालय टिभी
२०७७ चैत १६ गते १७:३०
एमाले अध्यक्ष ओलीद्वारा नेपाल र रावल पार्टी सदस्यबाट निलम्बित

१६ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गर्नुभएको छ ।

सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट गर्नुभएको हो । निलम्बन गरेको पत्र दुवै नेतालाई पठाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पाँच बुँदे निलम्बन पत्रमा नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।

आफ्ना विचार र क्रियाकलाप सच्याइ पार्टीका पक्षमा आएमा निलम्बनको अवधि घटाउने र सच्चिन दिएको मौकालाई कमजोरी ठाने थप कारवाही गर्ने चेतावनी दिइएको छ ।

स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटिको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रूपमा देखिएको आरोप लगाइएको छ । आफ्नो स्वार्थका लागि देश, जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्‍याउन तयार भएको, आपराधिक मनोवृत्ति थप पुष्टी भएको पत्रमा उल्लेख छ ।

आपराधिक क्रियाकलाप स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक क्रियाकलाप प्रति प्रायश्चित गर्ने अवसरलाई गम्भिरताका साथ लिनुको साटो उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको आरोप लगाइएको छ ।

नेपाललाई पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने काम गरेको आरोप छ ।

एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका निम्ती दुरुपयोग गर्ने सम्भावना देखिएकोले पनि निलम्बन गर्नु परेकोअध्यक्ष ओलीको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्