Political Hightlights

एमालेको नेपाल पक्षले भोलिका लागि बोलायो केन्द्रीय कमिटी बैठक

हिमालय टिभी
२०७७ चैत १२ गते १४:०१
एमालेको नेपाल पक्षले भोलिका लागि बोलायो केन्द्रीय कमिटी बैठक

१२ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। भोलि शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको छ ।

बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ।पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले राखेका केन्द्रीय समिति तथा संसदीय दलको बैठक बहिष्कार गरेका नेपाल–खनाल पक्षले अलग्गै बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले दुई दल मिलेर बनेको नेकपा अवैधानिक भन्दै पहिलेकै एमाले र माओवादी केन्द्र कायम गर्ने फैसला गरेपछि एमालेमा तीव्र विवाद शुरु भएको छ ।

नेपाल– खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ ।

जुन निर्णय अवैधानिक भन्दै नेपाल–खनाल पक्षले विरोध गरिरहेको छ। अलग्गै भेला र बैठक मात्र होइन, कतिपय भ्रातृ संगठनका समानान्तर कमिटीसमेत नेपाल खनाल पक्षले बनाएको छ ।

ओली पक्षले भने यही गतिविधिका कारण वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण मागेको छ। जसको जवाफसहित ओलीलाई पनि प्रश्न गर्ने तयारी नेपाल–खनाल पक्षले गरेको छ ।

ओली पक्षको स्पष्टिकरणको जवाफमा नभएर प्रतिप्रश्नका रुपमा केही प्रश्न सोधिने उपाध्यक्ष ज्ञवालीले बताउनुभयो । विधान किन मिचेको, भ्रष्टाचार बढ्दा पनि किन नियन्त्रण गर्न नसकेको लगायतका प्रश्न ओलीलाई सोध्ने नेपालखनाल पक्षको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्