नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठक आज, कारबाहीको तयारी
११ चैच २०७७ काठमाडौं । प्रदेश १ को नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।
प्रदेशसभास्थित एमाले संसदीय दलको कार्यालयमा बिहान ९ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो ।
बैठकले ९ फागुनमा प्रदेशसभामा टेबुल भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका पार्टीका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिने तयारी छ ।
एमालेका सांसदले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता नलिनेमाथि कारबाही प्रक्रिया शुरु हुने राजभण्डारीको भनाइ छ । संसदीय दलको बैठक बहिस्कार गर्नेमाथि आवश्यक निर्णय लिइनेसमेत उहाँले बताउनुभयो ।
संसदीय दलको बैठकमा पार्टीका सबै सांसदलाई अनिवार्य सहभागी हुन निर्देशन गरिएको छ । नेकपा हुँदा प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
अविश्वास प्रस्तावमा एमालेका २१ जना सांसदको हस्ताक्षर थियो । त्यसमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् भने १५ जनाले अझैसम्म हस्ताक्षर फिर्ता लिएका छैनन् ।
प्रतिक्रिया