संसदीय व्यवस्था असफल भइसकेको माओवादी धाराका दलहरुको टिप्पणी

८ चैत २०७७ काठमाडौं । माओवादी धाराका दलहरुले संसदीय व्यवस्था असफल भएकाले त्यसको विकल्प खोज्नु पर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा आयोजित अन्तरक्रियामा उनीहरुले संसदीय व्यवस्था असफल भएकाले दावी गरेका हुन । उनीहरुले वैज्ञानिक समाजबादी व्यवस्थाका बारेमा छलफल हुनुपर्नेमा उनीहरुको जोड छ ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले संसदीय व्यवस्थाको असफलताले ठूलो संकट निम्तिएकाले क्रान्तिकारी परिवर्तन अबको माग रहेको दावी गर्नुभयो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता उदय चलाउनेले संसदीय व्यवस्थाको विकल्प खोज्न ढिला गर्न नहुने भन्दै आफ्नो पार्टीले वैज्ञानिक समाजवादी व्यवस्थालाई विकल्पका रुपमा अघि सारेको बताउनुभयो ।
वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल आहुतिले सरोकारवालाले निर्णय गर्ने, प्रतिनिधिले लागू समाजवादी व्यवस्था अबको आवश्यकता रहेको बताउनुभयो ।
नेकपा क्रान्तिकारी माओवादीका नेता राम कार्कीले विकल्पका विषयमा छलफल गर्न सकिने तर यही नै हुनुपर्छ शर्त राख्नु भन्दा खुला छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
नेताहरुले राजनीतिक परिवर्तन भएपनि जनता उपेक्षामा पर्ने गरेको भन्दै व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन ।
प्रतिक्रिया