Political Hightlights

बालुवाटारमै पुगेर नेपाल–खनाल पक्षले ओलीलाई बुझायो यस्तो असहमतिपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ७ गते १५:१७
बालुवाटारमै पुगेर नेपाल–खनाल पक्षले ओलीलाई बुझायो यस्तो असहमतिपत्र (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षका तीन जना सांसदले बालुवाटार पुगेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पाँचबुँदे पत्र बुझाएका छन् ।

नेपाल–खनाल समूहका ३८ जना सांसदले अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका काम कारवाही गलत रहेको भन्दै आपत्ति जनाएको छन् ।

सांसदहरु यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ तथा सोमप्रसाद पाण्डे बालुवाटार पुगेर पत्र बुझाउनुभएको हो । पत्रमा संसदीय दलको विधान नै नबनाई र केन्द्रीय समितिको बैठकबाट अनुमोदन नगराई आफूखुसी संसदीय दलको बोर्ड गठन गरिनु पार्टी विधान र कानूनसम्मत नभएको उल्लेख छ ।

नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी हटाइएको तथा सदस्यको स्थान रिक्त नरहेको अवस्थामा केन्द्रीय कमिटीमा पार्टी सदस्य नै नलिएका व्यक्तिलाई सदस्यका रुपमा मनोनयन गरी महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै असहमति जनाइएको छ ।

बालुवाटार पुगेर असहमतिपत्र बुझाएपछि सांसद जीवनराज श्रेष्ठले भन्नुभयो – ‘बैठक विधिसम्मत् भएन, विधानसम्मत् भएन र दलले गरेका निर्णयहरु विधि र विधानसम्मत् भएन । ९ औँ महाधिवेशनबाट पारित भएको विधान अनुसार सबै काम कारबाही अगाडी बढ्नुपर्छ । संसदीय दलको बैठकपनि त्यही विधानले निर्देशित गरे अनुसार नै हुनुपर्छ । संसदीय दलको कार्यालयमा बैठक राख्नुपर्छ । नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक राख्नुपर्छ ।’

बालुवाटारमा ओलीले बोलाएको एमाले संसदीय दलको बैठक चलिरहँदा नेपाल–खनाल समूहका सांसद सिंहदरबारमा भेला भएका थिए । भेलाले दलको बैठकमा सहभागी हुनका लागि सर्तसहितको पत्र तयार पारी प्रधानमन्त्रीलाई बुझाएको हो । तर प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत अस्तित्व स्वीकार्य नहुने बताउनुभएको छ ।

ओलीले संसदीय दलको बैठकमा कुनै पनि समूह वा गुटगत गतिविधि स्वीकार्य नहुने बताउनुभएको हो । नेपाल–खनाल समूहको पाँचबुँदे माग पत्र बुझेपछि प्रधानमन्त्री ओलीले सांसद र नेताका व्यक्तिगत गतिविधि गर्न छुट हुने तर समूहगत रूपमा कुनै पनि गतिविधि गर्न छुट नदिने बताउनुभयो ।

नेकपा एमालेको संसदीय दलबाहेक अर्को कुनै अस्तित्व नभएको र त्यो किमार्थ स्वीकार्य नहुने प्रधानमन्त्रीले बताएको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । ओलीले व्यक्तिगत रूपमा कुरा सुन्ने तर गुटगत कुरा स्वीकार्य नहुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्