आर्थिक

विश्व बजारमा रेशमको माग उच्च, नेपालमा उत्पादन लगभग ठप्प (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ६ गते १७:१९
विश्व बजारमा रेशमको माग उच्च, नेपालमा उत्पादन लगभग ठप्प (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ धनकुटा । विश्व बजारमा रेशमको कपडालाई राम्रो मानिन्छ । यसको माग समेत उच्च छ । यसैलाई मध्यनजर गदै नेपाल सरकारले पनि रेशम खेती विकासका लागि जापान सरकारको सहयोगमा अढाइ दशक अघिनै शरु गरेको थियो । तर पछिल्लो समय यसमा चासो नदिँदा रेशमको उत्पादन लगभग ठप्प छ ।

सरकारको उपेक्षाको शिकार बनेको धनकुटाको रेशम विकास कार्यक्रम यतिबेला निस्प्रभावी भएको छ । २०५१ सालबाट जापान सरकारको सहयोगमा सरकारले रेशम खेती शुरु गरेको थियो । करिब चार वर्षसम्म जापान सरकारले सहयोग गर्दा उत्पादन राम्रै थियो । तर जब जापान सरकारले सहयोग रोक्यो तब उत्पादन पनि ओरालो लाग्यो ।

कार्यालयको तथ्याङ्ग अनुसार धनकुटामा पाँच जना किसानले मात्रै रेम खेती गर्दै आएका छन् । वार्षिक एक करोड २५ लाख रुपैयाँ खर्च गर्दै आएको धनकुटास्थित रेशम विकास कार्यक्रमले वार्षिक करिब १ सय ५० किलो मात्र कोकुन संकलन गर्दै आएको छ । एक समय यो कार्यालयमा वार्षिक १५ सय किलोसम्म कोकुन संकलन हुने गरेको थियो ।

अन्य खेतीको तुलनामा रेशम खेतीमा अलि बढी मेहनत पर्दछ । रेशम किराका लागि किम्बू खेती, किरा पाल्न छुट्टै घर र रेशम किराको विभिन्न चरणको बारेमा ज्ञान हुन आवश्यक छ ।

किम्बुको बोटबाट आहार विकास गरेर रेशम किरालाई खुवाइन्छ । त्यही रेशम किरा कोकुनको अवस्थामा पुगेपछि त्यसैलाई प्रशोधन गरी धागो उत्पादन गरिन्छ । यसले करिब २५ देखि २८ दिनमा धागो उत्पादन शुरु गर्दछ । कोकुन प्रतिकिलो पाँच सय रुपैयाँमा विक्री हुन्छ । जति उत्पादन भए पनि बजारको कुनै समस्या छैन । यो खेती बढाउन सरकारले प्राविधिक ज्ञानसहित किसालाई विभिन्न सुविधा दिनु आवश्यक छ ।

उत्पादन घटेपछि कार्यालय समेत कामविहीन बनेको छ । ११ जनाको दरबन्दी रहेको कार्यालयमा हाल ६ जना कर्मचारी मात्र छन् । उनीहरु निक्कै फुर्सदिला छन् । रेशमको धागो प्रतिकिलो चार हजार रुपैयाँसम्ममा विक्री हुन्छ । रेशमबाट उत्पादित कपडाको जापान अमेरिका लगायतको देशमा माग बढी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *