Political Hightlights

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

हिमालय टिभी
२०७७ चैत ४ गते १४:५८
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

४ चैत २०७७ सुर्खेत । नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज बसेको दलको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको मुख्य सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो । ओली समूहको यो निर्णयसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ ।

कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट तीन जना मन्त्री सहभागी छन् । कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढा हुनुहुन्छ ।

एमालेका प्रदेश इन्चार्ज एवम प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेल सहित १० जना सांसद सहभागी बैठकले फिर्ता लिने निर्णय गरेको हो । तर बैठकमा सहभागी नभएका नौ जनासँग स्पष्टिकरण सोध्ने बैठकले निर्णय गरेको छ ।

बैठकले उनीहरुलाई पाँच दिन भित्र स्पष्टिकरण दिन भनेको छ । अनुपस्थित हुनेहरु एमालेको माधवकुमार नेपाल पक्षका हुन् । मन्त्री प्रकाश ज्वाला सहितका सांसदहरु नेपालको पक्षमा छन् ।

यता नेकपा एमाले नेपाल समूहले भने कर्णाली प्रदेश सरकारप्रतिको समर्थन कायमै रहेको बताएको छ । कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले फेसबुकमा स्ट्याटस लेख्दै दलको नाममा गुटगत निर्णय भएको बताउनु भएको छ ।

उहाँले आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौ ।औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ । यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउदछौ । कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउदछौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्