Political Hightlights

भेलामा सहभागी भन्छन्–कारबाही गरेर देखाउनुस् आजदेखि हामी लामबद्ध भयौं

हिमालय टिभी
२०७७ चैत ४ गते १४:२९
भेलामा सहभागी भन्छन्–कारबाही गरेर देखाउनुस् आजदेखि हामी लामबद्ध भयौं

४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको काठमाडौमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको कार्यभार बनाउने भएको छ ।

ललितपुरको एक होटलमा जारी बृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छाचारी शक्तिविरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो । भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिनेछ ।

१० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरेर भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यभार बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

मुलभूत रुपाम वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदमविरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उहाँले बताउनुभयो । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफुहरु कार्यकर्ता भेला गरेर उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउदै पार्टी अध्यक्ष केपी ओलीले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौं । पछिल्लो श्रृंखला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरुको जिम्मेबारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौंलाई पार्टी जिम्मेबारीबाट हटाउने र कारवाही गर्ने भन्ने स्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौं कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ । यो पार्टीलाई एकताबद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महशुस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौ । ”

उहाँले एकताका साथ अघि बढ्नका लागि भेलाले ऊर्जा दिने विश्वास आफुहरुले लिएको बताउनुभयो । उहाँले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको कामकारवाहीहरु कुनै पनि हालतमा सर्वस्वीकार्य छैन र विरोधयोग्य छ भन्ने संदेश पनि देशव्यापी रुपमा प्रवाहित गरेको दाबी गर्नुभयो । पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारवाही गर्ने बताइरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेता–कार्यकर्ताहरु भेलामा सहभागी भएको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “उहाँले कति कारवाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्नेवाला छौं । हामी उहाँलाई भन्न चाहन्छौ तपाई कारवाही गरेर देखाउनुहोस् । आजदेखि हामी कारवाहीका लागि लामबद्ध हुँदैछांै २५ सय कार्यकर्ताहरु यहाँ लामबद्ध भएर । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौ तपाई कारवाही गरेर देखाउनुहोस् । कारवाही गर्दै जाने हो भने त उहाँ पनि बाँकी रहनुहुन्न नि त । उहाँ भोलि गएर एैया पनि भन्न नसक्ने अवस्थामा पुग्नुहुन्छ । ”

उहाँले बृहतर वामपन्थी एकताबाट च्युत हुनुहुँदैन भन्ने मानसिकताले आफुहरु अगाडि बढ्दै गरेको अवस्थामा अध्यक्ष ओलीबाट एमाले पनि एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति सिर्जना हुनु दुखद् भएको प्रतिक्रिया दिनुभयो । विभाजित हुन नपरोस भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भए पनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै उहाँले कुनैै पनि कार्यकर्ता नेतृत्वबट अपमानित भएर बस्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्