Political Hightlights

एमाले अध्यक्ष ओली र नेपालबीचको छलफल निष्कर्षविहीन

हिमालय टिभी
२०७७ चैत २ गते १३:४३
एमाले अध्यक्ष ओली र नेपालबीचको छलफल निष्कर्षविहीन

२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच आज भएको छलफल विना निष्कर्ष सकिएको छ ।

धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा नेपाल समूहले एकलौटी रुपमा गरिएका निर्णय फिर्ता भएपछि मात्रै थप छलफल अघि बढ्ने बताएको छ । तर अध्यक्ष ओलीले निर्णय फिर्ता नहुने अडान राखेपछि बैठक कुनै निष्कर्षमा नपुगी सकिएको हो ।

बैठकमा सहभागी सचिव प्रदीप ज्ञवालीले भने आजको छलफल सकारात्मक रहेको बताउनुभयो । उहाँले यसअघि भएका निर्णय सुधारबारे थप छलफल गरिने जानकारी दिनुभयो ।

भेटमा ओलीसहित उहाँको समूहबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ तथा नेपाल समूहबाट नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण बिष्ट तथा नेताहरु सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी हुनुहुन्थ्यो ।

ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार नभएपछि पार्टी कार्यालयमा यो छलफल भएको हो । ओली र नेपाल बीच चार महिनापछि पहिलो पटक औपचारिक भेटवार्ता भएको हो ।

गएको कात्तिक २५ गते आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेट्नु भएको थियो । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भएको यो भेटलाई सम्बन्ध सुधारको कदमका रुपमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्