आर्थिक

सख्खर र खुदोको गुणस्तर जोगाउँदै बजार विस्तार गर्नुपर्ने चुनौती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते १६:४९
सख्खर र खुदोको गुणस्तर जोगाउँदै बजार विस्तार गर्नुपर्ने चुनौती (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका– ४ दिगाम र रुरुक्षेत्र गाउँपालिका – ३ थानपति गुण र खुदोका लागि प्रख्यात स्थान हुन् । त्यसैका लागि यहाँ किसानले लामो समयदेखि उखु खेती गर्दै आएका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्वर ४ दिगामका हुमनाथ पन्थले खुदो र गुड अर्थात सख्खरको व्यावसायिक उत्पादन थालेको एक दशकभन्दा बढी भयो । हरिओम केशर मिलमार्फत दिगामसहित, छत्रकोट र रुरु क्षेत्र गाउँपालिकाका किसानसँग उखु खरिद गरेर सख्खर र खुदो बनाउँदै आएका पन्थले वार्षिक करिब ५० लाख रुपैयाँको कारोवार गर्नुहुन्छ । खर्च कटाएर पनि ७ देखि १० लाख बचत हुन्छ । बजारको समस्या छैन । तर, अहिले अनलाइन बिल जस्ता झन्झटले उहाँलाई निराश बनाएको छ ।

पहिले गोरुमार्फत कोलमा उखु पेल्ने चलन थियो । गोरुमार्फत काम गर्दा समय र जनशक्ति धेरै लाग्ने गर्दथ्यो । अहिले प्रविधिको विकासँगै मेसिनबाट उखु पेल्ने र खुदो बनाउने गरिएको छ । धेरैबेर आगोमा पकाएर उत्पादन गर्नुपर्ने भएकाले उखुका उत्पादन तयार पार्न सजिलो भने छैन् ।

अहिले स्थानीयस्तरबाट खुदो प्रतिलिटर १ सय १० देखि १ सय २० रुपैयाँसम्म विक्री हुन्छ । सादा सख्खर १ सय ७० र मसलावाला सख्खरको २ सय २० रुपैयाँ प्रतिकिलोमा विक्री वितरण हुँदै आएको छ ।

गाउँमा युवाको संख्या घट्दै गएकाले दिगाम र थानपतिमा यसको पहिचान जोगाउनु चुनौतिको विषय बनेको छ । पुस्तौदेखि उखु खेती गर्दै आएका किसानलाई गुणस्तर जोगाउँदै प्रतिस्प्रर्धात्मक बन्नुपर्ने जिम्मेवारी थपिएको छ ।

रुरु क्षेत्र गाउँपालिकाले वडा नम्बर ३ थानपति र वडा नम्बर ४ बलेटक्सारलाई उखु खेतीको पकेट क्षेत्रका रुपमा अघि बढाएको छ । जहाँ करिव दुई सय परिवारले २ हजार रोपनी जमिनमा उखु खेती गरिरहेका छन् ।

गाउँपालिकाले गत वर्ष ५० प्रतिशत अनुदानमा २ सय क्विन्टल उखुको विउ वितरण गरेको थियो । अहिले २ हजार क्विन्टल विउ वितरणको योजना छ । त्यस्तै छत्रकोट गाउँपालिकाले पनि उखु किसानलाई उखु र मेसिनमा अनुदानको व्यवस्था गरेको छ ।

गुल्मीको छत्रकोट र रुरुक्षेत्रका धेरै किसानका लागि उखु खेतीबाहेक अर्को पेशा छैन । उनीहरुले पहिलेदेखि नै स्थानीय रिडीको माघे संक्रान्ति मेलामा गुडको व्यापार गर्थे । अहिले रिडीसँगै, पाल्पा, बुटवल, पोखरा, काठमाडौंदेखि विदेशसम्म दिगाम र थानपतिको थोर्गेली गुड र खुदो प्रख्यात छ । तर यसको व्यवसायीककरण भने अझै हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *