एमालेसँगको एकता बदर भएसँगै नाम फेर्ने तयारीमा माओवादी केन्द्र

२८ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा एमालेसँगको एकता बदर गरिदिएपछि नेकपा माओवादी केन्द्र पार्टीको नाम फेर्ने गृहकार्यमा जुटेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल निर्वाचन आयोगमा पहिले नै दर्ता रहेको भन्दै सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि पार्टीको नाम परिवर्तन गर्न प्रचण्डलाई अन्य नेताले पनि सुझाब दिएका छन् ।
बुधबारको स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भए पनि औपचारिक निर्णय नभएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाम फेर्ने विषयमा तयार भए पनि औपचारिक निर्णय नभएको उहाँको भनाइ छ । नेता नारायणकाजी श्रेष्ठले नाम परिवर्तनका लागि विभिन्न नाम प्रस्ताव गरिएको बताउनुभयो ।
पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेपाल कम्युनिस्ट पार्टीका पछाडि कुनै उपयुक्त फुर्को राख्ने प्रस्ताव गरेको उहाँको भनाइ छ । सबै कम्युनिष्टहरुलाई एकीकृत गराउन मिल्ने गरी नाम राख्दा उपयुक्त हुन्छ भनेर नाम परिवर्तनको विषयमा छलफल भएको हो ।
नेकपा माओवादी र एकता केन्द्र मशालबीच ०६५ पुसमा एकतापछि पार्टीको नाम एकीकृत नेकपा माओवादी भएको थियो । माओवादी समूहका विभिन्न १० घटकको एकतापछि ०७३ जेठ ६ मा माओवादी केन्द्र बन्यो ।
माओवादी केन्द्र र एमालेको एकतापछि ०७५ जेठ ३ मा नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो ।
(भारतीय जनता नेकपा नेपाल ) यो चै सुहाउँदो नाम हुन्छ प्रचण्ड को पार्टीको नाम किन भने प्रचण्ड ले भारत बिना नेपाल म बिकास को सम्भावना हुदैन ।तेसैले भारत लाई comfortable हुने सरकार बनाउछौ भन्ने जुन अभिब्याक्ती दिनु भएको थियो। तेहि आधार म पार्टीको नय यहि सुहाउँदो हुनेछ ।