Political Hightlights

जसपाको प्रमुख तीन माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक

हिमालय टिभी
२०७७ फागुन २८ गते ८:०२
जसपाको प्रमुख तीन माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक

२८ फागुन २०७७ काठमाडौं । सत्ता समीकरणका लागि जनता समाजवादी पार्टी (जसपा)ले राखेका प्रमुख तीन माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनु भएको छ ।

हिजो पार्टी सचिवालय बैठकलगत्तै बालुवाटार पुगेका जसपा नेताहरूसँगको वार्तामा प्रधानमन्त्री ओलीले माग सम्बोधनका लागि सकारात्मक रहेको बताउनु भएको हो । थप छलफल गर्न दुवै पक्षको कार्यदलस्तरीय बैठक आज बस्दैछ ।

नयाँ सरकार निर्माणका विषयमा आफ्ना माग पूरा गराउने सर्तसहित प्रधानमन्त्री ओली र कांग्रेस–माओवादीसँग छलफल गरिरहेको जसपाले हिजो बालुवाटारमा करिब तीन घन्टा प्रधानमन्त्री र उहाँको टोलीसँग छलफल गरेको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जसपाका माग सम्बोधनमा प्रधानमन्त्री सकारात्मक भएको बताउनुभयो । जसपाले रेशम चौधरीलगायत मधेस–थरुहट आन्दोलनका बन्दीको रिहाइ, मधेस आन्दोलनमा जोडिएका कार्यकर्ताको रिहाइ, उनीहरु माथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।

आज बस्ने दुवै पक्षको कार्यदलको बैठकले ठोस मोडालिटी तय गर्ने दुबै पक्षले बताएका छन् । आज हुने अनौपचारिक छलफलमा जसपाको दुई सदस्यीय कार्यदलमा एकजना सदस्य थपेर तीन जना बनाउने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

एमालेका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराईलाई कार्यदलको जिम्मेवारी दिइएको छ । हिजो भएको छलफलमा जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र लक्ष्मणलाल कर्ण सहभागी हुनुहुन्थ्यो । जसपाका संघीय अध्यक्ष डा बाबुराम भट्टराई सहभागी हुनुभएन ।

ओलीसँगको सत्ता सहकार्यका विषयमा बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी सहमत देखिएको छैन । उसले ओलीको वहिर्गमनलाई नै प्रमुख मुद्दा बनाएको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टी ओली नेतृत्वको सरकारमा जान तयार भए पनि जनता समाजवादी पार्टीमा विग्रहको संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्