Political Hightlights

सर्वोच्चको फैसला स्वीकार गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय, नेपाल समूह एमालेमै फर्कने

हिमालय टिभी
२०७७ फागुन २४ गते १९:१०
सर्वोच्चको फैसला स्वीकार गर्ने प्रचण्ड–नेपाल समूहको निर्णय, नेपाल समूह एमालेमै फर्कने

२४ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

पेरिसडाँडामा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा नामको पार्टी आफ्नो नरहेको स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको हो ।

यो निर्णय अनुसार प्रचण्डसँग मिलेका माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताले अब नेकपा एमालेमै रहेर संघर्ष गर्ने भएका छन् ।

बैठकबाट केहिबेर अघि निस्केका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्चको फैसला अनुसार आफुहरु नेकपा एमालेमै रहेकाले त्यही बसेर संघर्ष गर्ने बताउनुभयो ।

बैठकले नेपालको कम्युनिष्ट आन्दोलन समाप्त गर्न षडयन्त्र भइरहेको भन्दै त्यसलाई असफल बनाउन दुबै तर्फबाट प्रयास गर्ने निर्णय भएको खनालले बताउनुभयो । नेकपा एमाले आफ्नै पार्टी भएको भन्दै उहाँले अब त्यहीभित्रैबाट माओवादीसँग एकताका लागि नयाँ ढंगले पहल अघि बढाउने पनि बताउनुभयो ।

बैठकमा नेताहरुले विभिन्न सुझाव दिएका थिए । पुर्व एमालेका नेताले पार्टी एकतालाई अब नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका थिए ।

नेता रघुजी पन्तले पार्टी एकता जोगाउने सम्भावना बाँकि नै रहेको भन्दै त्यसतर्फ प्रयास गर्नुपर्ने बताउनुभयो । त्यसका लागि प्रधानमन्त्री ओलीसँग छलफल गर्न उहाँले प्रचण्ड(नेपाललाई सुझाव दिनुभयो । बैठक अहिले पनि बसिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्