नेकपा विवादमा यस्तो रहेछ वामदेवको विकल्प
२० फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–नेपाल समूह र ओली समूहको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडी बढाउने बताउनुभएको छ ।
आज कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुग्नुभएका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह र केपी शर्मा ओली समूहका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताउनुभएको हो ।
एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उहाँको भनाइ छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अझै पनि एकताको पक्षमा नआएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘धेरै ठाउँमा उहाँहरुले बोलेको भनेको सबै सभाहरुमा बोलेको ठुल्ठुला सभाहरुमा बोलेको ति सबै सुन्दाखेरी एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा’छैन । मेरो चाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेशनका र प्रचण्डतिर रहेका सेकेन्ड जेनेरेशनका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एउटा ठुलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदै छौँ र चारैतिरबाट यि दुई वटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला । पहिलो एकता केपी र प्रचण्डबीचकै एकतालाई हो हामीले मान्ने त्यो अरुले एकता गर्दैमा त्यो एकता हुँदैन । जनताले मान्दैन, विश्वले पनि मान्दैन । दुईटालाई एकताबद्ध गरेपछि फेरी या पार्टी एकताबद्ध भयो भन्ने हुन्छ । तर उहाँहरुलाई त्यो एकतामा ल्याउनको निम्ति उहाँहरुको वरिपरि बसेकाहरुलाई घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिष्ट आन्दोलनप्रति शुभचिन्तक समर्थन गर्ने शक्तिले घेराबन्दी गरेर उहाँहरुलाई एकताबद्ध गराउने पक्षमा म छु ।’
उपाध्यक्ष गौतमले विभाजन उन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने स्पष्ट पार्नुभयो । पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा आफु उभिनसक्ने पनि उहाँको भनाइ छ ।
प्रतिक्रिया