सरकार र विप्लव समूहबीचको वार्ता आज पनि जारी रहने
२० फागुन २०७७ काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता जारी रहने भएको छ। हिजो पटकपटक गरी तेस्रो चरणको वार्ता भएको थियो।
तेस्रो पटकको वार्ता पुल्चोकस्थित गृहमन्त्री निवासमा भएको हो। तेस्रो पटकको वार्ता पनि सकारात्मक रहेको सरकारी वार्ता टोलीले जनाएको छ । त्यसअघि दुई पटकको वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको थियो ।
वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीकमा परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको दावी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बिहान साढे सातदेखि ११ बजेसम्म भएको पहिलो चरणको वार्तामा सरकारले विप्लव समूहको पहिलो शर्त कार्यान्वयनको सिलसिलामा उसका नेता तथा कार्यकर्ता रिहा गर्न सहमत भएको थियो।
आजको वार्तापछि सरकारले विप्लव नेकपामाथि लगाइएको राजनीतिक प्रतिबन्ध हटाउने तयारी गरेको छ । हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ फागुन २८ गतेदेखि विप्लवको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।
वार्तामा विप्लव नेकपाको टोलीले पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र थुनामा रहेका नेता–कार्यकर्तालाई रिहा गर्न राखेको सर्तमा सरकारी पक्षले सहमति जनाएको बुझिएको छ ।
सर्तमा सहमति जनाएको सरकारी पक्षले उनीहरूसँग रहेका हतियार बुझाउन भनेको छ । वार्तामा बसेका विप्लव नेकपाका प्रतिनिधिहरूले भने आफूहरूसँग कुनै पनि प्रकारका हतियार नभएको बताएका थिए ।
सरकारी पक्षले विप्लव नेकपासँग हतियार भएको आशंका गर्दै आएको छ । सुरक्षा अधिकारीहरूले पनि विप्लव नेकपासँग हतियार रहेको जनाउँदै आएका छन् ।
प्रतिक्रिया