Political Hightlights

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७७ फागुन ६ गते ९:००
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

६ फागुन २०७७ काठमाडौं । आगामी महाधिवेशनको मिति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आज मिति तय गर्ने सम्भावना रहेको छ ।

कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।

संसद विघटनविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ । ठूला सभा राजधानी काठमाडौंमा मात्र गर्ने कि प्रदेशस्तरमा पनि आयोजना गर्ने भन्ने विषयमा छलफल हुने छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा राख्नुभएको छ ।

सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्