कांग्रेसले केन्द्रीय समितिसहित सबै मातहतको कार्यसमितिको म्याद ६ महिना थप गर्ने (भिडियो रिपोर्टसहित)
५ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिसहित माहतहतका सबै कार्यसमितिको म्याद ६ महिना थप्ने भएको छ ।
बेलैमा अधिवेशन गर्न नसकेपछि पार्टीको वैधानिकता जोगाउन कांग्रेसले संविधान बमोजिम कार्यसमितिको म्याद ६ महिना थप्ने भएको हो । त्यसका लागि केन्द्रीय कार्यसमितिमा प्रस्ताव पेश भएको छ ।
पार्टीको १४औँ महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तयारी पनि भएको छ। पर्सिदेखि हुने गरी तोकिएको महाधिवेशन कोरोना महामारीका कारण हुन नसकेपछि आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा भदौमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरिएको छ ।
रामचन्द्र पौडेलले जेठमै महाधिवेशन गर्नुपर्ने अडान राखे पनि सभापति शेरबहादुर देउवाको चाहनाअनुसार नै भदौमा महाधिवेश गर्ने प्रस्ताव आएको हो ।
कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो। कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले यही फागुन १९ सम्म कार्यकाल बढाउनुभएको थियो ।
देउवाको कार्यकालको पाँच वर्ष पूरा हुँदैछ। संविधानमा कुनै पनि पार्टीको महाधिवेशन पाँच वर्षभित्र गर्नु पर्ने र विशेष परिवेश सिर्जना भएमा त्यसको ६ महिना भित्र गर्नु पर्ने बाध्यामत्क व्यवस्थाअनुसार कांग्रेसले त्यो अवधि पनि सकिने अन्तिम म्यादमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टीभित्रको विवादका कारण वैधानिकता जोगाउन संविधानको सहारामा ६ महिना म्याद थप्ने अवस्थामा कांग्रेस आइपुगेको छ ।
प्रतिक्रिया