Political Hightlights

सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूह आक्रोशित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ५ गते १६:५४
सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरेकोमा प्रचण्ड–नेपाल समूह आक्रोशित (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ हेटौंडा । पटकपटक सूचना टाँसेर बागमती प्रदेशसभा बैठक स्थगित गरिएपछि नेकपाको प्रचण्ड–नेपाल समूह आक्रोशित भएको छ ।

अन्तिम समयमा बैठक स्थगित भएको सूचना टाँसेर सभामुख सानुकुमार श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश संसदीय दलले विरोधपत्र बुझाएको छ ।

आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक बिहान ६ बजे सभामुखकोे विशेष कारणले भन्दै सूचना टाँसेर प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बैठक स्थगनको विरोधमा नेकपा संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले सभामुख सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाउनुभयो ।

प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि बागमती प्रदेशको बैठक पटकपटक सारिँदै आएको छ ।

यसअघि पनि माघ १९ गते बोलाइएको बैठक अघिल्लो दिन स्थगित गरी आजका लागि बोलाइएको थियो । सभामुखको यो कदमले प्रदेशसभाको उपादेयता समाप्त पार्ने षडयन्त्र भएको नेता शाक्यको भनाइ छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । माघ ७ गते प्रथम र गत माघ ९ गते दोस्रो बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भइ स्थगित गरिएको थियो ।

नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

प्रदेशसभामा सत्तारुढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० जना सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्