Political Hightlights

हजारौंको रगतले लेखेको संविधान नै धरापमा पर्‍योः अध्यक्ष प्रचण्ड

हिमालय टिभी
२०७७ फागुन १ गते १४:२४
हजारौंको रगतले लेखेको संविधान नै धरापमा पर्‍योः अध्यक्ष प्रचण्ड

१ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौ सहिदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा भएको बताउनुभएको छ ।

जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा सिर्जना भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “यस्तो परिस्थितिमा यो जीवनगाथा आएको छ । कहीँ कतै संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौ सहिदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको बेला पनि छ । यस्तो बेलामा तपाईहरुले यो जीवनगाथा प्रकाशित गरेर वैधानिक ढंगले अगाडि ल्याउनुभयो । यसको विशेष अर्थ र महत्व नेपालको इतिहासमा रहिरहने छ भन्ने म ठान्छु । र यसले हामीले रगत दिएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयहरुको रक्षाका निम्ति पनि यसले प्रेरणा दिनेछ । ”

जनयुद्धमा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध शुरु गरेकै दिन रोजेकोमा उहाँले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिनुभयो ।

युद्धकालिन समय योगदान पुराएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भए पनि सरकारका तर्फबाट वैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरीको पहिलो नगरपालिका भएकोमा पनि उहाँले धन्यवाद दिनुभयो । अध्यक्ष प्रचण्डले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडित देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफुले लिएको बताउनुभयो । बारबर्दियाले शुरु गरेको काम देशैभरी हुनेछ भन्ने विश्वास आफुले लिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले युद्धकालिन समयमा भएको बलिदानीसँगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफुहरुले खेलेको भूमिकालगायत सबै काम युगान्तकारी भएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीको नेता र युद्धको परिकल्पनाकारको हैसियतले आफुले उत्पीडित समुदायको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तात्कालिन विद्रोह उत्पीडित समुदायको विद्रोह नै भएको बताउनुभयो । उहाँले तात्कालिन समयमा थारु समुदायले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभयो ।

सरकारको तर्फबाट आधिकारिक दस्तावेज प्रकाशित गर्नेमा नगरपालिका पहिलो भएको अध्यक्ष प्रचण्डले बताउनुभयो । “जीवनगाथा” पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ ।

प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाको जीवनी समेटिएको छ । तीमध्ये ३ सय २८ सहिद तथा मारिएका व्यक्तिहरु,२ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाइते तथा अपांङ्गता भएका व्यक्तिहरुको जीवनगाथा छ ।

बर्दिया जिल्लाका ६ वटा नगरपालिकाहरु बाँसगढी, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा र राजापुर समेटिएका छन् । त्यसैगरी बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकाका ७५ वटा वडाहरुमा वडागत रुपमा जीवनगाथा श्रेणीबद्ध गरिएको छ । यसका साथै घटनाहरु बर्णानुक्रम अनुसार श्रृंखला मिलाएर राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्