Political Hightlights

आगामी चुनावमा प्रधानमन्त्री ओलीको जमानत जफत हुने वरिष्ठ नेता खनालको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २८ गते १६:४६
आगामी चुनावमा प्रधानमन्त्री ओलीको जमानत जफत हुने वरिष्ठ नेता खनालको दाबी (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री प्रतिगमनविरुद्धको आन्दोलनले केपी ओलीको तानाशाही समाप्त पार्ने चेतावनी दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार काठमाडौमा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता खनालले शान्तिपूर्ण आन्दोलनको आवाज नसुने आन्दोलनको आगोले ओलीको तानाशाही समाप्त पार्ने धारणा राख्नुभएको हो । प्रतिगमनविरुद्धको आन्दोलनमा सबै वर्ग, तह र नागरिक समाज पनि सहभागी भएकाले यो आन्दोलनको आवाज सुनिएन भने ठूलो आगो दन्किने चेतावनी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो “यो आन्दोलनको आवाज सुनिएन भने ६२÷६३ को भन्दा ठूलो आगो दन्किनेछ । जनआन्दोलनको आगो दन्किने छ । आगोले केपी ओलीको तानाशाही समाप्त पारी छोड्ने छ । ”

प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव गराउने र आफुले दुई तिहाई बहुमत ल्याउने भन्दै आएकोमा व्यंग्य गर्दै उहाँले आगामी निर्वाचनमा ओलीको जमानत जफत हुने ठोकुवा गर्नुभयो ।

उहाँले भन्नुभयो “ आज हामी केपी ओलीलाई भन्न चाहन्छौ– मिस्टर केपी ओली ! तपाईका खुट्टी हेर्दै पत्यायौ । अब तपाईले दुई तिहाई होइन तपाईको जमानत जफत हुनुहुनेछ । दुई वर्षपछि देशमा चुनाव हुन्छ । दुई वर्षपछिको चुनावमा हेर्नुहोला मेचीदेखि महाकालीसम्मका १ सय ६५ सिटमा तपाईको जमानत जफत हुँदैछ । हामी आजै घोषणा गर्न चाहन्छौ । ”

अहिलेको आन्दोलन नेकपाको दुई तिहाई गुटको आन्दोलन नभएको र प्रतिक्रान्ति र तानाशाही केपी ओलीविरुद्ध भएको भन्दै उहाँले आन्दोलनको बेग नरोकिने बताउनुभयो ।

उहाँले भन्नुभयो “केपी ओली अहिले राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेका छन् । पशुपतिमा गएर संकल्प पुजा गर्ने अवस्थामा पुगिसकेका छन् । उनलाई अब मार्क्सवादमाथि विश्वास छैन, विज्ञानमाथि विश्वास छैन र भविष्यमाथि पनि विश्वास छैन । उहाँको अब पशुपतिनाथको मुर्तिसँग मात्र विश्वास छ । ”

संयुक्त आन्दोलनमा एकजुट भएर संघर्षलाई विजयको विन्दुमा पुराउन पनि उहाँले सबैलाई आव्हान गर्नुभयो । प्रधानमन्त्री ओलीले निर्वाचन आयोग र आयुक्तहरुलाई धम्क्याउने काम गरेकाले पार्टीको आधिकारिताको निर्णय गर्न आयुक्तहरुलाई सकस परेको उल्लेख गर्दै उहाँले आधिकारिक पार्टी आफुहरु नै रहेकाले कानून, प्रक्रिया मिलाएर छिट्ै घोषणा गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्