प्रधानमन्त्री ओलीले जंगलराज चलाइरहेको प्रचण्डको आरोप
२४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले मुलुकमा जंगली राज चलाइरहेको आरोप लगाएको छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायमा गरिएका नियुक्ति हेर्दा मुलुकमा जंगली राज चलिरहेको स्पष्ट हुने टिप्पणी गर्नुभयो । काठमाडौंमा आज मिडिया एलाएन्ससँग भएको छलफलमा प्रचण्डले प्रधानमन्त्री कानून र संविधान केही पनि नमान्ने अवस्थामा पुगेको आरोप लगाउनुभयो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो कदमले अहिलेसम्मका उपलव्धि धरापमा परेको बताउनुभयो । ७० वर्ष लगाएर पाएका उपलव्धिमा प्रधानमन्त्री औलीले घन हानेको उहाँको दाबी छ ।
प्रचण्डले ओलीलाई बेलैमा चिन्न नसक्नु आफ्नो कमजोरी भएको बताउनुभयो । अहिले गम्भीर आत्मसमीक्षा गरिरहेको उहाँको भनाइ छ ।
कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले आफू ओलीबाट सबैभन्दा बढी पीडित भएको गुनासो गर्नुभयो ।
संसद विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले आज संचार उद्यमिसँग छलफल गरेको हो । सहभागीले नेकपाको झगडाले बाहिर राम्रो सन्देश नगएको भन्दै मिलेर अघि बढ्न सुझाव दिएका थिए ।
प्रतिक्रिया