Political Hightlights

खानेपानीमन्त्री थापा नख्खु कारागारमा, विप्लव नेतासँग भेट

हिमालय टिभी
२०७७ माघ २० गते १२:५६
खानेपानीमन्त्री थापा नख्खु कारागारमा, विप्लव नेतासँग भेट

२० माघ २०७७ काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु जेल पुगेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेट्नुभएको छ ।

सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा आज बिहान नख्खु कारागार पुगेर भेट्नुभएको हो ।

कारागारको खानेपानीसम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका मन्त्री थापाले सरकारले प्रतिबन्ध लगाएको समूहका नेता एवं आफ्ना पुराना साथी वलीसँग भेटवार्ता गर्नुभयो । मन्त्री थापाले वलीसँग भेट भएको स्वीकार गर्दै राजनीतिक कुरा नभएको प्रष्टिकरण दिनुभयो ।

काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च हुनुहुन्थ्यो । केही दिनअघि मात्रै सरकारले यो समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई पक्रेको थियो ।

संसद विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहनुएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिबन्धित विप्लव समूहसँग पनि वार्ताको प्रयास गरिरहनुभएको छ । त्यही प्रयास स्वरुप मन्त्री थापाले हेमन्त प्रकाश वलीसँग भेटेको बताइएको छ ।

विप्वल नेतृत्वको नेकपामाथि सरकारले २०७५ साल फागुन २९ गते प्रतिबन्ध लगाएको थियो । वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त समूहले राखेको छ ।

त्यसपछि हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहको अडान छ । तर सरकारले भने हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया शुरु हुने अडान राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्