लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट

Himalaya Television
२०७७ माघ १३ गते १७:२०

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष प्रचण्डको अठोट

१३ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ ।

पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । पार्टी एकताका निम्ति उहाँहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको जनाउँदै उहाँले भन्नुभयो, “अहिले जो दुर्घटना जस्तो स्थिति देखापरेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैंँ प्रेरणाका रुपमा आन्दोलनमा रहिरहन्छन् ।”

अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उहाँले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिलाई बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रचण्डले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन (चौम) पार्टीको सदस्यता लिएको लिनुभएको थियो । सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उहाँको ठूलो योगदान रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो “कम्युनिष्ट आन्दोलनका अभिभावकका रुपमा र आफ्नै अभिभावकका रुपमा मेरो जीवनमा उहाँको योगदानका कारणले म अहिले योे ठाउँमा आइपुगेको हुँ ।”

यसअघि अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालद्वारा संयुक्त रुपमा जारी गरिएको शोक वक्तव्य वाचन गरिएको थियो । अध्यक्ष दाहाल कुँवरको पार्थिव शरीरमा माल्यार्पणपछि भरतपुरबाट शव बोकेर देवघाटतर्फ प्रस्थान गर्नुभएको थियो । अध्यक्ष दाहाल गृह जिल्ला आउँदा सधैंँजसो कुँवरलाई भेट्ने गर्नुहुन्थ्यो ।

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिनुभएका कुँवरको आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ हाल भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आउनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs