नेपाल–भारत आकारमा सानोठुलो भए पनि हैसियत बराबर : प्रधानमन्त्री ओली

२८ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा सानो ठूलो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनु भएको छ ।
सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उहाँको भनाइ छ । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताउनुभयो।
चौधरीसँगको अन्तरवार्ता गएराती प्रशारण भएको थियो । चौधरी ओलीलाई खुइलाउने अभियान चलाएका व्यक्ति हुन् । उनले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको भेटको विषयलाई लिएर मानहानी र दुष्प्रचार गरेका थिए ।
जसका कारण नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’
नक्साको विषय पनि संवादबाट सुल्झाउन सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । अहिले नेपाल र भारतको फरक–फरक नक्सा भए पनि भोलि निर्क्योल हुँदाको दिन एकै प्रकारका नक्सा बन्ने उहाँले बताउनुभयो ।
भारत र चीनबीच सम्बन्ध सुमधुर बनाउन आफूले मध्यस्थता गर्न सक्ने भन्दै ओलीले आफू सी जिनपिङ र मोदीसँग पनि कुरा गर्न सक्ने र त्यसको लागि तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया