Political Hightlights

नेम्वाङ ज्यू, संसद विघटनबारे बोल्नुहुन्छ की ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २२ गते १८:४२
नेम्वाङ ज्यू, संसद विघटनबारे बोल्नुहुन्छ की ? (भिडियोसहित)

२२ पुस, काठमाडौं । संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । त्यो भिडियोमा नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको बताउनुभएको छ । अहिले संसद विघटन भएका बेला नेम्वाङ चुपचाप र गुमनाम जस्तै हुनुहुन्छ । संसद विघटनबारे उहाँ बोल्नुभएको छैन । तर डेढ वर्ष अघिको त्यो भिडियोले अहिले नेम्वाङसँग जवाफ मागिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओली सहित ओली पक्षका नेताहरु अहिले त्यसको बचाउमा सबै शक्ति खर्चेर लागेका छन । उनीहरु भनिरहेका छन संसद विघटन प्रधानमन्त्रीको अधिकार हो । तर प्रधानमन्त्री ओलीलाई हर तरहले साथ दिँदै आएका संविधान सभाका अध्यक्ष, कानूनविद् एवम ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ चुपचाप हुनुहुन्छ । ढुंगो बोल्ला तर म बोल्दिनँ जसरी नेम्वाङ बसिरहनुभएको छ । तर नेम्वाङलाई पछ्याउँदै उहाँको एउटा भिडियो भाइरल भएको छ, जहाँ नेम्वाङले भन्नुभएको छ–अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन । सुनौं ०७६ साल साउन ४ गते नेम्वाङले संसद विघटन र प्रधानमन्त्रीको अधिकारबारे के भन्नुभएको थियो ?

काभ्रेको धुलिखेलमा युएनडिपी र संसद सचिवालयले गरेको अन्तरसंवादमा नेम्वाङले प्रधानमन्त्रीले चाहेर पनि संसद विघटन गर्न नसक्ने र त्यस्तो व्यवस्था आफूहरुले संविधानमा नराखेको प्रष्टै बताउनुभएको छ । र, किन हटाईयो भन्ने पनि प्रष्ट पार्नुभएको छ, नेम्वाङको तर्क छ–हिजो रिस उठ्दा पनि प्रधानमन्त्रीले संद विघटन गरिएकोले हटाइएको हो । नेम्वाङलाई फेरि एक पटक सुनौं–

त्यतिमात्रै होईन, प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको संवैधानिक व्यवस्थाको व्याख्या गर्दै नेम्वाङले त्यतिबेला चुनाव पाँच वर्षभन्दा अघि गर्न नमिल्ने तर्क गर्नुभएको छ ।

अहिले स्थिति ठ्याक्कै नेम्वाङले भने जस्तै भएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिस उठेपछि प्रतिनिधिसभा भंग भएको छ । पहिले त बरु संसदमा प्रधानमन्त्रीलाई अवरोध गरिएको कारण देखाईएको छ, तर अहिले त पार्टी भित्र रिस उठेपछि प्रधानमन्त्रीले संसद भंग गर्नुभएको छ । तर पनि संविधान र कानूनको व्याख्या गर्ने नेम्वाङ चुप हुनुहुन्छ । बरु अदालतमा विचाराधीन भएकोले बोल्दिनँ भनिरहनुभएको छ । अब त विगतकै भिडियो उहाँलाई पछ्याउँदै आईसकेको छ । त्यसैले अब नेम्वाङलाई प्रश्न गर्नै पर्ने भएको छ–आफ्नै भिडियो हेरेर पनि नबोल्ने ?
भिडियो हेरेर त अब नेम्वाङ पक्कै बोल्नुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्