संकटकाल लाउने प्रधानमन्त्रीको योजना छः मानव अधिकारकर्मी पहाडी

२० पुस, काठमाडौं । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली देशमा संकटकाल लगाएर सेना परिचालन गर्ने योजनामा रहेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आज भएको कार्यक्रममा मानव अधिकारकर्मी पहाडीले सेना र सुरक्षाकर्मी परिचालन गरेर विरोधीलाई तह लगाउने सपना प्रधानमन्त्रीले देखिरहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीबाट गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम भइरहेको पहाडीको आरोप छ ।
सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको कदमलाई सदर गरेमा नेपालमा जुनसुकै प्रधनमन्त्रीले त्यस्तै कदम चाल्ने र कहिल्यै पनि राजनीतिक स्थिरता नहुने उहाँले बताउनुभयो ।
संविधान निर्माणपछि विरोध गर्ने र आगो लगाउनेहरु अहिले संविधानको रक्षाको लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेले नै संविधानको पाना च्यात्ने काम गरेको पहाडीले आरोप लगाउनुभयो ।
प्रतिक्रिया