Political Hightlights

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि फेरि शुरु हुँदै

हिमालय टिभी
२०७७ पुष १९ गते ७:३४
कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि फेरि शुरु हुँदै

१९ पुस २०७७ काठमाडौं। संसद विघटनबारे छलफल गर्न शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि फेरि शुरु हुने भएको छ ।

बैठकले आजदेखि निरन्तरता पाउने भए पनि संसद विघटनविरुद्ध तत्काल कुनै निर्णय नगर्ने भएको छ।

प्रतिनिधिसभा विघटन सभापति शेरबहादुर देउवाको मिलोमतोमा भएको आरोप लागेको अवस्थामा संस्थापन पक्षले त्यसलाई बल पुग्ने गरी केन्द्रीय समितिको बैठक लम्ब्याउने तथा ठोस निर्णय नगर्ने योजना बनाएको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने बताइरहे पनि संस्थापन पक्ष भने सर्वोच्च अदालतको निर्णय कुर्ने बहानामा ‘छलफल गर्ने तर निर्णय नगर्ने’ रणनीति तय गरेको हो।

पौडेल पक्षधरले संसद विघटन असंवैधानिक भएकाले त्यसबारेमा कांग्रेसले सडक आन्दोलनको समेत नेतृत्व गर्नुपर्ने बताइरहेको छ। तर संस्थापन पक्ष भने घोषित मध्यावधी चुनावलाई अवसरका रुपमा प्रयोग गर्नुपर्ने भन्दै केन्द्रीय समिति बैठकमा छलफल गर्ने तर निर्णय नगरी लम्ब्याएर जाने निष्कर्षमा पुगेको हो ।

सभापति देउवा निकट नेता गोपालमान श्रेष्ठले आजदेखि बैठक फेरि शुरु हुने भए पनि सर्वोच्चको निर्णय नआएसम्म कुनै निर्णय नहुने बताउनुभयो । संस्थापन पक्षको यस्तो रणनीतिप्रति असहमति राख्दै पौडेल पक्षले यसअघि भएका ४ वटा बैठकमै प्रतिवाद गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्