आर्थिक

आर्थिक दृश्टिकाेणबाट सन् २०२० कस्तो रह्यो ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १७ गते ७:०१
आर्थिक दृश्टिकाेणबाट सन् २०२० कस्तो रह्यो ? (भिडियोसहित)

१७ पुस २०७७ काठमाडौं । आर्थिक दृश्टिकोणबाट सन् २०२० मुलुकका लागि निकै खराब रह्यो । सन् २०२० मा अर्थतन्त्र करिब शून्यकै हाराहारीमा झर्यो । लाखौँले रोजगारी गुमाउनु त पर्यो नै दुई छाक खानै नसक्ने अवस्थामा जनता पुगेको दृश्य समेत यसै वर्ष देखा परे । अर्थतन्त्रका आन्तरिक क्षेत्र शिथिल रहँदा बाह्य क्षेत्र भने औषत रहे ।

सन् २०२० मा मुलुकको अर्थतन्त्र कोरोना भाइरस र त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनको शिकार भयो । कोरोना महामारीको बाछिटा पहिलो महिनाबाटै देखापर्यो । पर्यटक आगमन निरन्तर ओरालो लाग्यो भने वैदेशिक रोजगार गन्तव्य मुलुकले कामदार आपूर्ति रोके ।

चिनियाँ नाका समेत यसै बहानामा बन्द भए । फैलँदै गएको कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारले तेश्रो महिनादेखि लकडाउन गर्यो । चार महिनासम्म गरिएको यो लकडाउन र निषेधाज्ञाले अर्थतन्त्रको गतिमा ब्रेक लगाइदियो । यो अविधमा लगभग सबैजसो आर्थिक क्रियाकलाप ठप्प रहे ।

रोजागार गुमाएर भारत तथा तेश्रो मुलुकबाट लाखौँ युवा स्वदेश फर्किए । काठमाडौं लगायतका मूख्य सहरका युवा रोजगार गुमाएर कैयौँ दिन पैदलै हिँडेर गाउँ फर्किए ।

दुई छाक खान सक्ने आधार नभएपछि खुलामञ्जजस्ता क्षेत्रमा खानाको आशमा मानिस लाइनमा बसिरहेका कारणिक दृश्य समेत यसै वर्ष देखियो । तर लकडाउन र निषेधाज्ञा सकिएर अर्थतन्त्र विस्तारै अघि बढेपनि दिर्घकालिन असर पर्ने अवस्था कायमै छ ।

पर्यटक आगमन ठप्प छ भने पर्यटकिय क्षेत्र अझ केहि वर्षसम्म संकटबाट गुज्रनुपर्ने हो टुंगो छैन । उद्योग कलकारखाना पुर्ण रुपमा संचालनमा आउन सकेका छैनन् । हजारौँले गुमेको रोजगारी फर्कन सकेको छैन । मल अभावको समस्या यस वर्ष पनि दोहोरियो । वैदेशिक व्यापारमा आयात घटिरहेको छ भने निर्यातमा सामान्य सुधार देखिएको छ ।

व्यापार घाटाको खर्बौँको खाडल जस्ताको तस्तै छ । लक्ष्यअनुरुप राजस्व संकलन हुन नसक्दा सरकारलाई स्रोत व्यवस्थापनमा सकस परिरहेको छ । स्वदेशमै रोजगारी नपाएपछि कामको खोजीमा भारततर्फ पलायन हुनेक्रम रोकिएको छैन् । कोरोना महामारीका माझ यो वर्ष महँगी भने नियन्त्रणमा रह्यो ।

यो वर्ष आन्तरिक क्षेत्र शिथिल रहँदा अर्थतन्त्रका बाह्य क्षेत्रमा भने त्यति निराशा छाएन् । घट्ने अपेक्षा गरिएको र्या मिट्यान्स केही बढेको छ । मुलुकबाट बाहिरीनेभन्दा भित्रिने रकम बढी भएपछि शोधानन्तर बचत र विदेशी मुद्रा सञ्चिति बढेको छ ।

यद्यपी वैदेशिक लगानीमा यो वर्ष उत्साह देखिएन् । सन् २०२० मा अर्थतन्त्र भुकम्प गएको वर्ष अर्थात सन् २०१५ यताकै संकटग्रस्त अवस्थामा पुग्यो । यो वर्ष अर्थतन्त्रमा ठूलो संकुचन देखियो र आर्थिक वृद्धिदर शून्यकै हाराहारीमा झरेको छ । भ्रमण वर्ष घोषणा गरिएर पछि फिर्ता गरिएको सन २०२० समृद्धिको आधारशिला बन्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *