Political Hightlights

नेकपामा फुटको अवस्थासँगै प्रदेश १ का मुख्यमन्त्रीको पद धरापमा

हिमालय टिभी
२०७७ पुष ८ गते १४:३४
नेकपामा फुटको अवस्थासँगै प्रदेश १ का मुख्यमन्त्रीको पद धरापमा

८ पुस २०७७, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको अवस्थामा पुगेपछि प्रदेश १ को सरकार अल्पमतमा परेको छ ।

केन्द्रीय नेतृत्वले पार्टी फुटेको औपचारिक घोषणा गरेका छैनन् तर छुट्टा–छुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टी फुटेको सन्देश दिएका छन् ।

नेकपा फुटेपछि ओली पक्षका नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने भएको हो । दुई तिहाई बहुमतसहित सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राईलाई अब बुहमत जुटाउन कठिन छ । प्रदेशमा प्रचण्ड–नेपाल पक्षको पुग–नपुग बहुमत छ ।

९३ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा नेकपाको मात्रै ६७ सदस्य छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश १ मा ओली पक्षका २० मात्र सांसद छन् । मुख्यमन्त्री राईलाई विश्वासको मत जुटाउन २१ सदस्य रहेको काङ्ग्रेस र पाँच मत भएका साना दलको समर्थनले मात्र पुग्दैन ।

आफ्नो पक्षमा बहुमत रहेको प्रचण्ड–नेपाल समूहको दाबी छ । संसद् अधिवेशनपश्चात् मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार अल्पमतमा छ। प्रदेशमा ८ माघभित्र संसद् अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्था छ । संसद् आह्वान भएसँगै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने अवस्था छ । त्यसपछि नयाँ मुख्यमन्त्री फेर्ने कसरत शुरु हुनेछ ।

नयाँ मुख्यमन्त्रीको रूपमा प्रचण्ड–नेपाल पक्षका भीम आचार्य बलियो दाबेदार हुन् । प्रदेशसभा सदस्यमा नेपाल–प्रचण्ड पक्षको सिनियर नेता भएकाले उनलाई नै अघि सार्ने छ ।

तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधन राईसँग आचार्य मात्र दुई मतले पराजित भएका थिए । प्रदेशमा तत्कालीन एमालेको ५१ मत थियो, जसमा मुख्यमन्त्री राईले २६ मत प्राप्त गर्दा आचार्यले २४ मत पाएका थिए । मतदानमा एक मत बदर भएको थियो ।

आचार्यसँग असन्तुष्टि जनाउँदै राईलाई भोट हालेका नेपाल पक्षका नेताहरू पुरानै गुटमा फर्किएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्